जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

by समतल अनलाइन

जाजरकोट।जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् ।जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिए ।

बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको उनले बताए ।दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा लगिएको छ ।

औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको छ । गाडी चालक गोरख बस्नेत भने फरार छन् ।

 
 
  
 

You may also like