मनसुन बाहिरिन अझै एक साता लाग्ने, आज पूर्वका केहि स्थानमा ठूलो पानी पर्ने

by समतल अनलाइन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) पनि देशका केहि स्थानमा मध्यमदेखि ठूलो पानी पर्ने जनाएको छ ।आज विशेष गरी पूर्वी भेगका केहि स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनमा भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको उल्लेख छ ।

अहिले प्रदेश–१ मा पूर्णतया बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । आइतबार दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेघ गर्जनर चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

सोमबार प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । राति प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलबार दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको उनले बताए । उनका अनुसार लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्छ ।

 
 
  
 

You may also like