महामारीको पीडामा चर्को व्याज असुलेको भन्दै विप्लव समूहद्वारा माइक्रो फाइनान्सका कर्मचारी नियन्त्रण

by समतल अनलाइन

अछाम । कोरोना महामारीका कारण सर्वसाधरणलाई गुजारा चलाउन समस्या भइरहेका बेला चर्को व्याज असुलेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अछाममा एक माइक्रो फाइनान्सका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीले जीवन गुजारामै समस्या भइरहेका बेला सामाजिक उतरदायित्व निभाउँदै राहत सुविधा दिनको सट्टा चर्को व्याज असुलेको भन्दै विप्लव समूहले अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो । विप्लव समूहले माइक्रो फाइनान्सका कर्मचारी कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पार्टीले पटक–पटक विज्ञप्ती र फोनमार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तीय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम (विप्लव) ले जनाएको छ । गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा पार्टीले कारवाही समेत गरेको नेकपा अछाम (विप्लव) ले जनाएको छ ।

असोज ५ गते डिप्रोक्स वित्तीय संस्थाका कर्मचारीले संकलन गरेको २ लाख ५० हजार रकम समेत स्थानीयहरुलाई फिर्ता गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ । डिप्रोक्स वित्तीय संस्थाका कर्मचारी जनक अधिकारीले संकलन गरेको रकम जोबाट संकलन गरेको उनीहरुलाई नै बाँडिएको जनाइएको छ । अबदेखि व्याज नअसुल्न भन्दै अधिकारीलाई सम्झाई बुझाई छोडिएको नेकपा अछाम (विप्लव) ले जनाएको छ ।

जनहित विपरीत गतिविधि सञ्चालन गरेका र नेपाल सरकारको मौद्रिक नीति उल्लंघन गर्ने सवै वित्तीय संस्थालाई कार्वाही गरिने पार्टीको नीति रहेको नेकपा अछाम (विप्लव) का जिल्ला सचिव आखिरले जानकारी गराएका छन् । नियन्त्रणमा लिएका कर्मचारीको अवस्थाबारे विप्लव समूहले स्पष्ट पारेको छैन ।

 
 
  
 

You may also like