काठमाडौं।प्रदेश नम्बर १ का ४ जिल्लामा भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहान ४ बजे जारी गरेको सूचनामा इलाम, झापा, सुनसरी, मोरङ जिल्लामा ६ घण्टा भारी वर्षा भएको छ।
भारी वर्षासँगै मेची, निन्दा, बिरिङ, मावा, नुना, बुढीखोला तथा कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य स(साना खोलामा आकस्मिक बाढी आउने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।यस्तै, गएराति कास्कीको पोखरा एयरपोर्ट आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले भने आज देशका अन्य प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।महाशाखाका अनुसार अहिले प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।