काठमाडौं। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ ।कोरोनाका कारण शिक्षण संस्थाहरु बन्द हुँदा प्रभावितमध्ये एक तिहाई भन्दा बढी बालबालिका दूर शिक्षाबाट समेत बञ्चित रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरले शिक्षण संस्थाहरु बन्द हुँदा विश्वका करिब ३३ करोड बालबालिका दूर शिक्षाको पँहुचबाट टाढा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
गत वर्षको डिसेम्बरबाट चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण सम्पूर्ण गतिविधिहरु अवरुद्ध भएका छन् । महामारी अझै नियन्त्रणमा नआएकाले लामो समयदेखि शिक्षण प्रक्रिया नै अवरुद्ध हुँदा बालबालिकामा नकारात्मक असर पर्न सक्ने भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको हो ।
कार्यकारी निर्देशक हेनरीटाले विश्वभर महिनौदेखि शिक्षण संस्थाहरु बन्द हुँदा विशेष गरी स्कुले उमेरका बालबालिका नराम्ररी प्रभावित भएको भन्दै शिक्षा आपतकालीन अवस्थाको घोषणा गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
युनिसेफले माध्यमिक तहसम्मका विद्यार्थीलाई दूर शिक्षा वा घरमै बसेर अध्ययन गर्न सक्ने उपकरणसहितको शिक्षण पद्दतीको विकासमा जोड दिनुपर्ने जनाएको छ । कतिपय बालबालिकामा प्रविधिको पँहुच भएपनि घरमा सहज रुपमा अध्ययन गर्ने वातावरण नहुने भन्दै युनिसेफले दूर शिक्षा र त्यसका लागि वैकल्पिक व्यवस्था गर्न पनि जोड दिएको हो ।
विश्वभर ७२ प्रतिशतभन्दा बढी बालबालिका दूर शिक्षाको समेत पँहुचमा नरहेको युनिसेफको दावी छ । यस्तै तीन चौथाई स्कुल जाने उमेरका बालबालिका ग्रामणि क्षेत्रमा बसोबास गर्ने युनिसेफले जनाएको छ । एजेन्सी