बुटवलमा कोभिड–१९ परिक्षण ३० मिनेटमा

by समतल अनलाइन

स्वस्तिक श्रेष्ठ
बुटवल। विरामीको उपचारमा संलग्न चिकित्सकहरु असुरक्षित र कोभिड १९ संग मिल्दोजुल्दो लक्षण भएका बिरामीको उपचारमा समस्या भएको गुनासो भईरहेको बेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड–१९ को दु्रत परिक्षण सेवा शुरु भएको छ । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत उपलब्ध जिन एक्सपट मेशिनलाई अपडेट गरि अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ टु परिक्षण सेवा शुरु गरिएको छ ।

अस्पतालको आकस्मिक उपचारमा आउने विरामीहरुलाई लक्षित गरि सो सेवा शुरु गरिएको हो । सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेशिनबाट आफ्नै स्वाव परिक्षण गरि सेवा शुभारम्भ गरे । यो सेवासंगै अस्पतालमा आउने कोरोना भाईरससंग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज हुने उनले बताए । चिकित्सकहरुमा कोरोना संक्रमण समेत कम हुने उनको दाबी छ । ‘चिकित्सकको जोखिम न्युनिकरणमा सहयोग मिल्ने छ ।’– उनले भने । सामान्य पिसिआर परिक्षणको समावधि ढिला हुदा उपचार समस्या भएको गुनासो आईरहेको बेला यो मेशिनबाट सहयोग मिल्ने उनले बताए ।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक निम बहादुर सिहले यो विधि निक्कै प्रभावकारी र गुणस्तर भएको दाबी गरे । क्वालिटी कन्ट्रोल परिक्षण अन्तरगत ईन्डोनेशियामा गरिएको परिक्षणको क्रममा सर्भे (एग्रिमेन्ट) दर शतप्रतिशत, सेन्सिटिभिटि दर ९९.०५ प्रतिशत र स्पेशिफिकेशन दर ९५.८ प्रतिशत भेटिएको दाबी गरे । अस्पतालमा उपचारमा आउने आकस्मिक भर्ना भएका कोरोना भाईरसका मिल्दोजुल्दो लक्षण भएका क्षयरोगी तथा एचआईभी संक्रमितको परिक्षणमा प्राथमिकता दिईने उनले बताए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवालाई बिस्तार गरिएको बताए । क्षयरोगीहरुको परिक्षण हुदै आएको जिन एक्सपट मेशिनको कार्टेजसंगै बायोसेफ्टी क्याबिनेट थप गरि कोभिड १९ को परिक्षण शुरु गरिएको उनले बताए । अस्पतालको भौतिक पूर्वाधारदेखि सेवासुविधाहरुलाई थप गरेको उनले बताए । अस्पतालका मेडिकल सुपरिटेण्ड डा. राजेन्द्र खनालले मेशिनबाट कोभिड १९ को संकास्पद बिरामीको रिर्पोट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुदा यो धेरै प्रभावकारी भएको बताए ।

अस्पतालका कोभिड १९ फोकलप्रसन डा. सुदर्शन थापाले पछिल्लोसमय कोरोना भाइरसका जटिल र लक्षण देखिने बिरामी बढेको दुखेसो गरे । बिरामीको उपचारमा रहेका चिकित्सकहरुको सुरक्षा देशभर अहिले गम्भिर विषय बनेको उनले बताए ।

अस्पतालका बिआर टिभी क्लिनिङ ईन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकता राखेर सेवा दिईने बताए । अन्य मेशिनको तुलनामा यसले छिटो रिर्पोट दिने हुदा प्रभावकारी भएको उनले बताए । यो निशुल्क सेवा भएको उनले बताए । कोभिडका शंका भएको मधुमेह, मृगौला, क्षयरोगी र एचआईभी संक्रमितहरुलाई प्राथमिकता दिने उनले बताए । अमेरिकाले बनाएको यो मेशिन करीब ढाई महिना अघि विश्व स्वस्थ्य संगठनबाट मान्यता प्राप्त भएको थियो । एक घण्टामा ४ जनाको परिक्षण गर्न सकिने उनले बताए । मृत्यु भएका बिरामीको कोरोना परिक्षण गर्न समेत सजिलो हुने उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा सात वर्षदेखि क्षयरोगीहरुको पिसिआर मेशिनबाट खकार परिक्षण हुदै आएको थियो ।

 
 
  
 

You may also like