आजको मौसम : मेघगर्जन र चट्याङसहित बर्षा, यी चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

by समतल अनलाइन

काठमाडौं। गए रातिदेखि नै शुरु भएको बर्षा आज (सोमबार) पनि जारी रहने मौसमविदले जानकारी दिएका छन् ।आज (सोमबार) देशभर मेघगर्जन र चट्याङसहित केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।अहिले सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । ‘राति कतै–कतै भारी वर्षा पनि भएको छ,’ उनले भनिन्, ‘त्यही वर्षा अहिले कम हुँदै गएको हो ।’

उनका अनुसार काठमाडौं उपत्यकामा पनि रातभर हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । अघि बिहान ६ बजे मात्र रोकिएको हो । काठमाडौंमा १६.७ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा दिउँसो केहीबेर घाम लाग्ने सम्भावना भए पनि पुनः बदली भई क्षणिक वर्षा हुने मौसमविद नगरकोटीले जानकारी दिइन् । मौसमविद् नगरकोटीका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भनेको छ :- ‘दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।’

यस्तै राति पनि देशका अधिकांश भूभागमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा बागमती, प्रदेश १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

‘देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक–दुई स्थानमा भारी वर्षा समेत हुनसक्ने देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

मौसमविद् नगरकोटीका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालको पश्चिमको दक्षिणतिर केही नजिक भएको छ भने पूर्वतर्फ यो रेखा नेपालभन्दा टाढै छ । जसले गर्दा पूर्वको तुलनामा पश्चिमतर्फ वर्षा अलि बढी हुने सम्भावना देखिएको हो । ‘तर मनसुनी हावा पूर्वबाटै आउने भएकाले पूर्वमा पनि पानी त पर्छ ।’

मौसमविद् नगरकोटीले भनिन्, ‘पश्चिमतर्फ यो रेखा अझै नेपाल नजिक हुने सम्भावना देखिएको छ ।’ मौसमविद्का अनुसार यो रेखा जति नजिक भयो उति वर्षा बढ्छ । अहिले मनसुनका बेला ५० मिलिमिटर वर्षा भयो भने भारी तथा सय मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा मानिन्छ ।

 
 
  
 

You may also like