प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ

सिरहा । गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे । केही घण्टापछि शवको पहिचान खुल्यो ।उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादव । उनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत थिए ।

मृतक यादव घटना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छोरीको विवाह पुगेका थिए । त्यही विवाहमा उनकी प्रेमिका पनि आएकी थिइन् । प्रेमिकालाई भेट्न त्यस विवाहमा उनी पुगेको प्रहरी स्रोत जनाएको छ । गाउँको केटी र सशस्त्र प्रहरी जवानको प्रेम सम्बन्ध बारे गाउँका केटाले थाहा पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेका अनुसार विवाहमा समान्य विवाद भयो । स्थानीयले सशस्त्र प्रहरी जवानलाई चोर चोर भनेर लखेटे । गाउँदेखि ३ किलोमिटरसम्म लखेटेर नहरको पानी डुबाई कर्तव्य गरी मारेको खुल्न आएको डिएसपी घिमिरेले बताए ।

यो घटनामा हालसम्म अनुसन्धान गर्दा हत्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए ।

प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए । बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ । बिहीबार सार्वजनिक गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी घिमिरेले सुनाए । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like