रञ्जन कोइराला छुटेपछि गीताको बुबाले भने, ‘गलत नजिर स्थापित भयो’

काठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला आज बिहीबार आठ वर्ष कैद भुक्तान गरी छुटेका छन् ।

सर्वोच्च अदालतले साढे ११ वर्ष कैद घटाउँदै गरेको फैसलासँगै कोइराला आज जेलमुक्त भएका हुन् । कोइरालाको सजाय घटाउन सर्वोच्चले गरेको फैसलाप्रति सर्वत्र रुपमा प्रश्न उठाइएको छ । यसैबीच सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको भन्दै पीडित परिवारले आपति जनाएका छन् ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्षमै पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो । पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि हत्या गरिएकी गीता ढकालका बुबा हरेराम ढकालले यो फैसलाले समाजमा राम्रो सन्देश नदिएको प्रतिक्रिया दिएका छन् ।

मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पुरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताएका छन् ।

उनले भने, ‘मान्छेलाई मारे पनि हुने रहेछ भन्ने सन्देश गयो अब । के डर भयो र रु जघन्य अपराधमा कानूनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने । यस्तो न्यायालयको त्रृटीले समाजमा राम्रो सन्देश जाँदैन ।’

सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पुरा हुने भए किन २०–२५ वर्ष राख्नुपर्‍यो भन्दै उनले प्रश्न गरेका छन् ।

श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो ।

फेरि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी आज ९बिहीबार० छुटेका छन् ।

 
 
  
 

You may also like