मास्क फालेर बहादुर देखिने मानसिक रोग : लापर्बाही गरे नेपालमा ठूलो रुप लिनसक्ने

काठमाडौं । ‘मलाई कोरोना भाइरस सर्दैन, त्यसैले म मास्क लगाउँदिनँ’ भन्ने सोच मानसिक रोग भएको विशेषज्ञहरुको धारणा छ ।मास्क लगाउँदा कोरोना भाइरसको संक्रमण ७५ प्रतिशतले नियन्त्रित हुने अध्ययनले देखाइसकेको अवस्थामा मास्क लगाउन नचाहनु एक प्रकारको मानसिक समस्या हो’ डा। युएन क्वक–युङ्गले टिप्पणी गरेका छन् ।

हङकङ युनिभर्सिटीका शोधकर्ता क्वक–युङ्ग सन् २००३ मा सार्स भाइरस पत्ता लगाउनेमध्येका एक रहेको सिएनबिसीले जनाएको छ । विश्वमा सबैभन्दा ठूलो परिमाणमा संक्रमित रहेको अमेरिकामा पनि पछिल्लो समय मास्क लगाउने तत्परता बढेसँगै संक्रमण र मृत्युदरमा कमी आएको विश्लेषकहरुको ठहर छ ।

नेपालमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन समेत चलाएर बन्दाबन्दी पूर्णरुपमा हटाउन लागिएको बेला मास्कको पहिरनमा लापर्बाही अपनाइए महामारी पहिले भन्दा ठूलो रुप लिएर फर्किने नेपाली चिकित्सकहरुको चेतावनी छ ।

बजार र यातायातका साधनहरु बन्द हुनु वा खुल्नुभन्दा पनि मास्क लगाइएको वा नलगाईका कारणले कोरोना भाइरसको संक्रमणको दर प्रभावित भएको छ ।

अमेरिका ‘पौरुषत्व प्रदर्शन गर्ने’ मानसिकताका कारण मास्कको प्रयोग नगरेर विश्वको एक नम्बर संक्रमित बनेको छ, ब्राजिलले पनि मास्कप्रति लापर्बाही गरेरै दोस्रो स्थान कायम राखेको छ भने छिमेकी भारत बहुसंख्यक नागरिकमा रहेको तीव्र गरिबी र न्यून चेतनाले मास्कसम्म पहुँच हुन नसकेका कारण तेस्रो स्थानमा छ ।

दक्षिण कोरियालगायतका मुलुकहरुले बन्दाबन्दीलाई भन्दा बढी मास्कलाई जोड दिएका कारण अर्थतन्त्रलाई पनि बचाएका छन् भने नागरिकको स्वास्थ्य पनि बिग्रिन दिएका छैनन् । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like