महामारीमाथि मौसमी विपत् : दुई दिनमा २६ को ज्यान गयो, ६० हराए

बुधबार राति सिन्धुपाल्चोकमा हराएका २१ जना नभेटिंदै बिहीबार देशका विभिन्न भागमा बाढी पहिरोमा ३९ जना बेपत्ता
काठमाडौं। बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् ।

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् । सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

जाजरकोटको बारेकोट र जुनिचाँदे गाउँपालिकामा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने आठ बेपत्ता छन् । अविरल वर्षासँगै बिहीबार राति आएको पहिरोले बारेकोट गाउँपालिका–४ जिरी सार्कीटोलका गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो ।

पहिरोमा पुरिएर गोपालसँगै उनका ११ वर्षीय छोरा अर्जुन, पाहुना आएका कुशे गाउँपालिका–९ चौताराका २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्की तथा कलु सार्कीकी १४ वर्षीया छोरी तीर्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर श्रेष्ठले बताए । दुई शवको अझै सनाखत हुन सकेको छैन । पाँचजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बारेकोट–६ धुमामा आएको बाढीमा बगेर स्थानीय बासिन्दा २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका छन्न् । उनीहरूसँगै बगेका रामचन्द्र चलाउने र विज्ञान बोहरालाई भने स्थानीयले उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए ।

यसैगरी जुनिचाँदे गाउँपालिका–११ चैतेका डिल्लीबहादुर चँदारा जुनिचाँदे–३ स्थित सानाखोलामा लडेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराका विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा पुरिएर एकै परिवारका तीनसहित सातजनाको मृत्यु भएको छ । ११ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पोखरा महानगरपालिका–१८ सराङकोटमा पाँच तथा वडा नम्बर २५ हेम्जा र वडा नम्बर २६ पैतेको डाँडामा एक–एकजनाको मृत्यु भएको छ ।

सराङकोट गोठादीका ५० वर्षीय टंकबहादुर थापा, उनकी पत्नी ४५ वर्षीया सोममाया, ६ वर्षीय नाति सुवान (दाइको नाति), तनहुँ दमौली घर भएका भतिजा आठ वर्षीय शीतल श्रेष्ठ (सोममायाकी बहिनीका छोरा) र छिमेकी १९ वर्षीया इशिका थापाको मृत्यु भएको छ । उनकै घरमा रहेका आठजना घाइते भएका छन् ।

त्यस्तै, हेम्जास्थित मेलबोटका रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा उनकी ७० वर्षीया आमा हिमकलीको मृत्यु भएको छ । पैतेको डाँडामा गएको पहिरोमा परी अन्दाजी ३५ वर्षका दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार थापाको घरमा २२ वर्षीया छोरी पिंकीको जन्मदिनको कार्यक्रम रहेकाले परिवारका सदस्यसँगै आफन्त र छिमेकी गरी १३ जना जम्मा भएका थिए । जन्मदिन मनाएर उनीहरू सुतेकै अवस्थामा बिहान करिब पौने ३ बजेतिर घरमाथिको पाखोबाट पहिरो खसेको थियो । जसले उनको घर नै पुरियो । मृतक सबैको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।

पहिरोमा परी मृतक थापाका छोरीहरू पिंकी र आशा, पाँच वर्षीया नातिनी (पिंकीकी छोरी) पिरिसा, दमौली घर भएकी साली सरस्वती श्रेष्ठ, भतिजा सन्देश श्रेष्ठ (सरस्वतीका छोरा) तथा छिमेकीहरू अनिश तामाङ, रशि थापा र रश्मी थापामगर घाइते भएका छन् । उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पैतेको डाँडाका दुर्गाको ब्लकले बनेको र टिनले छाएको दुईकोठे घर पहिरोले पुरिएको थियो । घरमा रहेका अन्य मानिस भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । हेम्जाका अधिकारीको घरमा रहेका तीन बाख्रा पनि पहिरोमा पुरिएका छन् ।

घरमाथिबाट आएको पहिरोमा परी पोखरा–१७ छोरेपाटन सिमलटुँडाका ६० वर्षीय चन्द्रबहादुर मगर, उनकी पत्नी ५० वर्षीया शान्ति र दश वर्षीय छोरा सुशान सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लगातारको वर्षाले सेती नदीमा आएको बाढी पोखरा–१० रामघाटस्थित सुकुम्बासी बस्तीमा पस्दा स्थानीयले व्यावसायिक रूपमा पालन गरेका एक सय ५८ बंगुर र १९ वटा कुखुरा बगाएको डिएसपी हमालले बताए ।

पोखरा–१९ तल्लोडाँडामा खसेको पहिरोले स्थानीय गिरिधारी बाँस्तोलाको अन्नपात, वस्तुभाउ बाँध्ने धन्सार भत्काएको छ । पहिरोमा उनका एक गोरु र एक भैंसीको पाडो पुरिएका छन् ।

लमजुङमा एकै परिवारका तीनको मृत्यु
लमजुङमा बिहीबार राति आएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–७ सातबिसेको तल्लो क्षेत्रमा बस्ने ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी २६ वर्षीया बिमाया र नौ वर्षीय छोरा छेवाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुरले थापाले बताए ।

बिहीबार राति ११ बजेतिर दीपक बस्ने घरमाथि पहिरो खसेको थियो । घरमा उनका आमा बुबा र छोरी पनि बस्दै आएका थिए, तर बिहीबार भने उनीहरू आफन्तको घर गएका थिए । पहिरोमा परी दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ र २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरू स्थानीय अस्पतालमा उपचारपछि घर फर्केको डिएसपी थापाले बताए ।

म्याग्दीमा तीनको मृत्यु, ३१ बेपत्ता
अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी म्याग्दीमा तीनजनाको मृत्यु भएको छ, ३१ बेपत्ता छन् । बाढी र पहिरोले धौलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा जनधनको ठूलो क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धौलागिरि–६ मराङमा पहिरोले दुई जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । बेपत्ता २४ मध्ये दुईजनाको शव भेटिएको छ, तर उनीहरूको सनाखत हुन सकेको छैन । त्यस्तै, रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ललिमान छन्त्यालको मृत्यु भएको छ । शुक्रबार दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोले घर बगाउँदा मालिका गाउँपालिका–७ बिममा आठजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजंग कुँवरले बताए । उनका अनुसार मालिका गाउँपालिका–६ स्थित दुखु खोलामा आएको बाढीले बगाएर एक बेपत्ता भएका छन् ।

पहिरोमा बेपत्ता भएका र अलपत्र परेकाको खोजी तथा उद्धार कार्यमा जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी र स्वयंसेवक खटिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । खराब मौसमका कारण हेलिकोप्टरमार्फत बेपत्ताको खोजी र अलपत्र परेकाको उद्धार गर्न नसकिएको उनको भनाइ छ ।

पहिरो र बाढीको चपेटामा परी अलपत्र परेका ८० जनालाई मराङबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । बिममा अलपत्र परेका स्थानीयलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी नदीमा दाउरा टिप्न गएर नदीमै अलपत्र परेका दुईजनाको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

रघुगंगाले बेलिब्रिज बगायो
रघुगंगा नदीमा आएको बाढीले बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्ने राहुघाट बेलिब्रिज बगाएको छ । यससँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

कटानले झोलुंगेसहित राहुघाटमा रहेका २१ घर जोखिममा परेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । जोखिममा परेका २१ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

रुकुम पश्चिममा आमाछोराको मृत्यु, छोरी घाइते
पहिरोले घर पुर्दा रुकुम पश्चिममा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा पुरिएर आठबिसकोट नगरपालिका–३ रेझेखोलाकी २८ वर्षीया सीता दमाईं र उनका ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए ।

पहिराले सीताकी आठ वर्षीया छोरी हिरा घाइते भएकी छिन् । उनको अवस्था खतरामुक्त रहेको डिएसपी केसीले बताए । सीताका पति तुलबहादुर भने कामको सिलसिलामा घरबाहिर थिए । पहिरोले घर पुरिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटिएका थिए । हिराको जीवितै उद्धार भए पनि सीता र हाविलको शव मात्रै भेटिएको थियो ।

सिन्धुपाल्चोकमा एकको मृत्यु, दुई दिनदेखि २१ बेपत्ता
सिन्धुपाल्चोकमा बाढीले बगाएर शुक्रबार एक जनाको मृत्यु भएको छ । लार्चा खोलामा आएको बाढीमा परेर स्थानीय ५२ वर्षीय नाक्चे मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोमा बिहीबार बेपत्ता भएका २१ जना अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिका–५ जम्बुका १६, भोटेकोसी गाउँपालिका–४ बुल्कोटेका चार र लार्चाका एकजना बेपत्ता छन् । जम्बु बजार बगरमा परिणत भएको छ, दुई दिनदेखि प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । बाढी र पहिरोले यहाँका ६० घर पुरिएका छन् । कोदारी, तातोपानी, लार्चा, बुल्कोटे, दशकिलो र पाउगुम्बाका ३० घरमा पूर्ण रूपमा क्षति पुगेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए ।

भोटेकोसी किनारमा बस्ने झन्डै ५० परिवार घर छोडेर कोदारी माविमा बसेका छन् । बाटो भत्किएकाले एक गाउँबाट अर्को गाउँ जान नसकिएको नेकपा भोटेकोसी अध्यक्ष आङछिरी शेर्पाले बताए । बाह्रबिसेदेखि लार्चासम्म चारवटा पुल बाढीले बगाएको छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाका अनुसार जम्बु र खागदलमा ३४ घर बाढीले बगाएको छ । पीडितलाई खाने–बस्नेको व्यवस्था गर्ने उनले बताए । बाढीको त्रासले तटीय क्षेत्रमा घर भएका सयौँ स्थानीय झिटीगुन्टा बोकेर सुरक्षित स्थानतर्फ गएका छन् ।

त्यस्तै, भोटेकोसी गाउँपालिकाको लार्चा, कोदारी, तातोपानी, बोलेपा, पाङ्सेर्पुका पाँच सयले घर छोडेका छन् । चारैतिरबाट ठाडो खोला र खोल्सीबाट बाढीपहिरो एकैसाथ आएर भोटेकोसी नदी ह्वात्तै बढेकाले चाकु, दशकिलो र हिन्दीका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।

त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिकामा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मनसुनयता २४ परिवार विस्थापित
मनसुन सुरु भएयता प्रदेश १ मा पहिरोले घर पुरिँदा तथा क्षति हुँदा २४ परिवार विस्थापित भएका छन् । पहिरोले तीन दर्जनभन्दा बढी परिवारको करोडौँको क्षति भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेकी रिना गुरुङको घर पहिरोले बगाएको छ । घर बगाउँदा पाँचजनाको परिवार विस्थापित भएको छ । यसअघि बिहीबार राति सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिका–३ का पूर्णबहादुर दमाईंको घर पहिरोले बगाएको छ ।

घर बगाउँदा उनको परिवार पनि विस्थापित भएको छ । त्यस्तै, २२ असारमा थुलुङ दूधकोसी गाउँपालिका–३ थामडाँडाका युवराज काफ्ले, माप्य दूधकोसी–४ का हस्तबहादुर राई, रामबहादुर राई, विष्णुबहादुर राई, प्रदीप राईलगायत घरमा पहिरोले क्षति पुगेको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गत फागुनयता खोला तथा नदीमा बगेर तथा डुबेर ४५ जनाको मृत्यु भएको छ । जसमा सात बालिका छन् । मोरङमा १४, सुनसरीमा पाँच, झापा, इलाम, ताप्लेजुङमा चार–चार, भोजपुर र उदयपुरमा तीन–तीन, पाँचथर, शंखुवासभा र खोटाङमा दुई–दुई तथा तेह्रथुम र धनकुटामा एक–एकजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

सुदूरपश्चिममा जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराइँदै, सुरक्षाकर्मी तयारी अवस्थामा
देशका अन्य भागमा बाढी र पहिरोले जनधनको क्षति गरेसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कैलाली र कञ्चनपुरमा वर्षायाममा अत्यधिक डुबान हुने गरेको छ । लगातार वर्षा हुने मौसम विभागको अनुमान रहेकाले डुबान हुने क्षेत्रमा प्रशासनले पनि आवश्यक सतर्कता अपनाएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

‘स्थानीय बासिन्दालाई सतर्क रहेर बस्न भनेका छौँ । बाढी र डुबान भएको अवस्थामा उद्धारमा खटिनका लागि स्थानीय स्तरमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी युनिटहरू तयारी अवस्थामा छन्,’ प्रजिअ बोहराले भने । त्यस्तै, नदी, खोलाहरूमा जलस्तर मापन गरेर बाढीको सतह बढेमा समुदायलाई सतर्क गराउने सूचना प्रणालीलाई पनि सक्रिय पारिएको उनले बताए ।

कञ्चनपुरमा पनि डुबान प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सचेत गराइएको छ । दुई दिनअघि वर्षाले भीमदत्त नगरपालिका–१८ मा डुबान हुँदा ४५ घरपरिवार विस्थापित भएका थिए । वर्षाको पानी जमेपछि डुबान हुँदा एक सय २० जनाको उद्धार गर्नुपरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । पहाडी क्षेत्रमा पनि जोखिमपूर्ण बस्तीका बासिन्दालाई सतर्क गराइएको उनले बताए ।

गत साता बाढी, पहिरोमा पुरिएर बझाङमा सातजनाको मृत्यु भएको थियो । अन्य जिल्लामा यस वर्ष बाढी, पहिरोको विपत्ले अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको एसएसपी सिंहले बताए । तैपनि सबै जिल्लामा प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like