म्याग्दीमा पहिरोले घर बगाउदा ७ जना बेपत्ता

म्याग्दी। लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको रिखामा शुक्रबार बिहान सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताउनुभयो । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उहाले बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । ‘‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ,’’ वडा सदस्य पुनले भन्नुभयो ‘‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’’

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

नदीको कटानका कारण बेलिब्रिजको राहुघाट तर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

गलेश्वरका स्थानीय दिपक कार्की बिखर्चीले ठेकेदारले पक्कि पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्कि पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको डिएसपी किरनजंग कुँवरले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाले बताउनुभयो ।

 
 
  
 

You may also like