नेपालगञ्जका मेयर राणालाई गौहत्याको मुद्दा लगाउन माग, कुकुर हत्याले दिक्तेल पनि विवादमा

by समतल अनलाइन

काठमाडौँ । पशुहरुप्रति स्थानीय सरकारले दानवीय व्यवहार देखाउन थालेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बजारका छाडा चौपायालाई संकलन गरी ट्रकमा खाँदेर भीरबाट खसालेर हत्या गरेको विषय बाहिर आएको छ भने खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाले क्रुर ढंगले कुकुरको हत्या गरेको भिडियो सामाजक सञ्जालमार्फत बाहिर आएको छ ।

पशुअधिकारकर्मीहरुले यसरी पशुको निर्मम हत्या गर्नेहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् । यसैबीच नेपाल भेटेरीनरी एशोसिएशनले गौहत्यामा संलग्न रहेको दाबी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवलशमशेर राणा र उपमेयर उमा थापालाई तत्काल कारबाही गर्न माग गरेको छ ।
एशोसिएशनका अध्यक्ष डा। सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै गौहत्या संलग्न मेयर राणालाई कडा कानुनी कारबाही गर्न माग गर्नुभयो ।

तर नेपालगञ्जका मेयर राणा आफूहरुले गौहत्या गरेको नभई यो एक घटनालाई एक दुर्घटनाका रुपमा लिनुपर्ने बताउनुहुन्छ । रोगी र कमजोर गाई गोरुलाई अन्यन्त्र ओसार्ने क्रममा ट्रकभित्रै च्यापिएर मृत्यु भएको उहाँको दाबी छ । सरकारले गठन गरेको छानबिन समितिले सत्य बाहिर ल्याउने विश्वास आफूलाई रहेको उहाँ बताउनुहुन्छ ।

मेयर राणाले दैलेखका स्थानीय तहसँगको समन्वयमा नेपालगञ्जका छाडा चौपाया त्यहाँ लैजाने दाबी गर्नु र दैलेख प्रशासनले मेयर राणाको उक्त भनाई गलत रहेको भन्दै खण्डन गर्नुले नियोजित रुपमा सामूहिक गौहत्या गरिएको आरोपमा बल पुगाएको छ ।

यसबारे सरकारी छानबिन टोलीले अनुसन्धान गरिरहेकै बेला खोटाङमा अर्को एक पाशविक घटना भएको छ । दिक्तेल बजारका कुकुरलाई अत्यन्त निर्मम ढंगले दाउराले टाउकोमा हिर्काएर हत्या गरिएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि नगरपालिकाको कडा आलोचना भइरहेको छ । उक्त भिडियो आफ्नो क्यामेरामा कैद गर्ने बाजिन्द्र विष्ट सुरुमा कुकुरलाई विष खुवाइएको र त्यसपछि दाउराले टाउकोमा हिर्काएर निर्मम हत्या गरिएको बताउनुहुन्छ ।

अत्यन्त निर्मम ढंगले कुकुरको हत्या भएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ । पशुको बाच्न पाउने अधिकारको हनन गर्नेहरुलाई कानुनी कारबाहीको माग जोडदार रुपमा उठिरहेको छ । छाडा चौपाया व्यवस्थापपनका नाममा ट्रकमा खाँदेर भिरबाट खसाल्ने र कुकुर व्यवस्थापनका नाममा कुटिकुटि मारेको घटनाले नेपाली समाजका ठालूहरु अझै पनि जंगली नै रहेको जस्तो देखाएको पशुअधिकारकर्मी प्रमदा शाहको टिप्पणी छ ।

दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल भने कुकुरले सताएको भन्दै स्थानीय बासिन्दाले उजरी दिएपछि व्यवस्थापन गरिएको बताउँनुहुन्छ । तर आफूले कुनै पनि कुकुरलाई मार्न आदेश नदिएको उहाँको भनाई छ । नियन्त्रणमा लिन गएका कर्मचारीलाई टोकेर घाइते बनाएपछि कुकुर हत्याको घटना भएको उहाँले स्वीकार गर्नुभयो ।

संसारमा जन्म लिइसकेपछि बाच्न पाउने अधिकार मानवसहितका सबै प्राणीलाई समान छ । तर व्यवस्थापनका नाममा पशुहरुको पाशविक हत्या गर्नु निन्दनीय अपराध हो । यस्ता दानवीरय व्यवहारका घटनामा संलग्नहरुलाई कानुन बमोजिम कारबाही हुनैपर्दछ ।

 
 
  
 

You may also like