काठमाडौंदेखि अर्घाखाँचीसम्म पुग्यो सलह किरा तर, नियन्त्रण गर्न सरकारी संयन्त्र उदासीन

काठमाडौं। खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह किरा काठमाडौंसहित देशका विभिन्न जिल्ला पुगेका छन् ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, काभ्रे, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर, लमजुङ, अर्घाखाँची, दाङ, पाल्पालगायतका जिल्लामा सलह किरा देखिएको जनाएको छ ।

सलह किरा भित्रिनासाथ विषादी छर्केर नष्ट गर्नुपर्नेमा दुई दिन बितिसक्दा पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहले सलह किरा भित्रिएको स्थान र विस्तार हुँदै गएको क्षेत्रफलबारे तथ्यांक मात्र अपडेट गरिहेका छन् । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले सलह नियन्त्रण गर्न सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए ।

धेरै जिल्लामा सलह देखिएपछि नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन प्रदेशमन्त्री दावा दोर्जे लामाको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गरेको उनले बताए । ‘हामीले स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा अलग अलग कमिटी गठन गरेर यसको तथ्यांक संकलन गर्ने, क्षति पुर्‍याउन सक्ने विषयमा आकलन गर्ने र क्षति भएको खण्डमा तथ्यांक संकलन गरी आवश्यक कदम चाल्ने गरी संयन्त्र विकास गरेका छौँ,’ उनले भने ।

काठमाडौंको दक्षिणकाली नगरपालिका र ललितपुरको महांकाल गाउँपालिकामा दिउँसो ३ बजे सलह देखिएको थियो । कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख निर्मल गदालका अनुसार दिउँसो ३ बजे देखिए पनि किरा काठमाडौं र ललितपुरमा बसेका छैनन् ।

‘काठमाडौं र ललितपुरको आकाशमा देखिए पनि कतै बसेनन्, काभ्रेतिर गएको अनुमान छ,’ उनले भने । त्यस्तै, धादिङको धादिङबेंसीमा सानो संख्यामा सलह किरा देखिएका छन् । चितवनको खैरहनी, कालिका र भरतपुर महागरपालिकाको दिव्यनगरमा देखिएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३, ६, ७ र ८ तथा बकैया गाउँपालिकाको धियाल, मनहरीको लोथरमा सलह किरा पसेको पुष्टि भएको छ । त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–८, बागमरा र चियाबारी, रामेछापको मन्थली नगरपालिका–१०, चनखुमा यो किरा पुगेको छ । काभ्रेको खानीखोला र बनेपा नगरपालिकामा सानो संख्यामा भेटिएको छ ।

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.विमल निर्मलका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीमा सलह भेटिएको छ । ‘शनिबार दिउँसो सलह देखिएको थियो, तर आइतबार खासै देखिएको छैन । हामीले नियन्त्रणका लागि कन्ट्रोल रुम खडा गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहसँग पनि समन्वय गरिरहेका छौँ ।’

शनिबार दिउँसो प्रदेश ५ को रूपन्देहीस्थित भैरहवा र बुटवलमा देखिएको सलह आइतबार साँझसम्म पाल्पा, अर्घाखाँची, दाङ र कपिलवस्तुसम्म पुगेका छन् । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजप्रसाद सुवेदीका अनुसार शनिबार बुटवल र भैरहवामा देखिएका किरा नै पश्चिमतिर सर्दै गएका हुन् । ‘भैरहवा र बुटवलमा आइतबार देखिएका छैनन् । तिनै किरा पश्चिमतिर सर्दै गएको देखिन्छ,’ उनले भने ।

तथ्यांक संकलन रबैठकमै संयन्त्रहरू क्रियाशील

कृषि मन्त्रालय र सलह किरा व्यवस्थापनका लागि गठित समितिले देशभरमा सलह किराको संक्रमण बढ्दै गएको तथ्यांक लिएको छ । समितिका संयोजक समेत रहेका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका संयोजक सहदेवप्रसाद हुमागाईले शनिबारबाट भित्रिएको किरा बिस्तारै विभिन्न क्षेत्रमा पुग्न थालेको बताए ।

शनिबार बिहान बारा, पर्सा, सर्लाहीमा देखिएको सलह किरा दिउँसो भैरहवा, बुटवल क्षेत्रमा पुगेको थियो । बिहान सानो झुन्डमा आए पनि साँझ भने बाराको कलैया र रूपन्देहीको भैरहवा क्षेत्रबाट ठूलो संख्यामा भित्रिएका थिए ।

त्यसपछि यी किराहरू सिन्धुलीको भिमान हुँदै चियाबारीसम्म र काभ्रेसम्म शनिबार राति नै आइपुगेका थिए । आइतबार भने रामेछाप, चितवनको भरतपुर नगरपालिका, पाल्पाको दोभानसम्म पुगेको थियो । त्यस्तै, पाँचथर र लमजुङमा समेत किरा प्रवेश गरेको छ ।

मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद भारीले सानो संख्यामा आएको किरालाई नियन्त्रणका लागि किसानलाई सचेतना वृद्धि गर्न थालिएको बताए । ‘अहिले सानो झुन्डमा आएको हो । यसलाई नियन्त्रण गर्न खेतबारीमा ठूलो आवाज बजाउने, बालीहरूलाई त्रिपाल तथा जालीले छोपेर राख्न किसानलाई अनुरोध गरेका छौँ,’ उनले भने, ‘अलि ठूलो संख्यामा भित्रिएको खण्डमा दमकल र ट्यांकरमा विषादी घोलेर स्प्रे योजनामा छौँ ।’

अहिले देखिएका सलह जंगलमा गएर बसेका कारण खासै खतरा नभएको कृषि मन्त्रालयको दाबी छ । यो किरा देखिनासाथ विषादी छरेर मार्नुपर्नेमा ढिला भएको विज्ञहरूले बताएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थाप केन्द्रका पूर्व प्रमुख डा.डिल्लीराम शर्माले शनिबार साँझ र आइतबार बिहान किरा वास बसेको ठाउँमा विषादी छर्केर नियन्त्रण गर्नुपर्नेमा ढिलाइ भएको बताए ।

राजस्थानबाट सलहको ठूलो झुन्ड आउन सक्ने सम्भावना रहेको मन्त्रालयद्वारा गठित समितिका संयोजक सहदेवप्रसाद हुमागाईले बताए । ‘भारतबाट सलहको एउटा ठूलो समूह आउने सम्भावना देखिएको छ ।

हामीले भारतका विज्ञलाई समेत सम्पर्क गरेर ती किरा आउन नदिने र आइहाले कसरी नियन्त्रण गर्ने भन्नेबारेमा योजना बनाइरहेका छौँ,’ उनले भने । शनिबार बिहान बारामा करिब एक लाखको संख्यामा सलहको झुन्ड देखिएको थियो । अन्यतिर भने १०–२० हजारको संख्यामा आएका छन् ।

धान रोपाइँ सार्न र ब्याड छोप्न कृषि मन्त्रालयको आग्रह

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले सलह किरा देखिएको स्थानका किसानलाई धान रोपाइँ केही पर सार्न आग्रह गरेका छन् । ‘सलह किरा एकै ठाउँमा लामो समय बस्दैन, त्यसैले सलह देखिएको ठाउँमा किसानले रोपाइँ गर्ने तयारी गर्दै हुनुहुन्छ भने तीन–चार दिन सार्नुहोला । सलह किरा गएपछि रोपाइँ गर्दा राम्रो हुन्छ,’ उनले भने ।

धानको ब्याडलाई त्रिपाल, जाली वा प्लास्टिकले छोपेर राख्न पनि उनले आग्रह गरेका छन् । ‘हरियो बाली सलह किराले एकै क्षणमा नष्ट गर्छन्, त्यसैले ब्याड जोगाउन किसानले छोपेर राख्नु राम्रो हुन्छ,’ उनले भने ।

सलह ल्याए प्रदेश सरकारले प्रतिकिलो २५ रुपैयाँ दिने
धनगढीबाट तेजराज भट्ट
सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनाशकारी सलह संकलन गरेर ल्याए प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय आइतबार गरेको हो ।

सलह किराको झुन्ड सुदूरपश्चिममा पनि आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए । सलह किराले गर्ने क्षति कम गर्न पनि यस्तो निर्णय गरिएको उनले बताए ।

कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले यी चार वटा तहमा क्षति कम गर्न आवश्यक तयारी थालिएको मन्त्रालयले जनाएको छ ।

सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like