शान्ति मिसन जाने एक हजार १२४ सैनिक क्वारेन्टाइनमा

काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ । दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले कोरोना संक्रमण जोखिमका कारण फागुन अन्तिम साता दक्षिणी सुडान उड्न लागेका नेपाली शान्ति सेनालाई रोकेको थियो । त्यसपछि कुनै पनि मिसनमा नेपाली सैनिक फौज गएको थिएन । पुनः लैजाने भनेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मिसनमा जाने फौजलाई सम्पूर्ण स्वास्थ्य परीक्षणपछि मात्र पठाइने बताए । ‘मेडिकल रिपोर्टसहित फौजलाई शान्ति मिसनमा पठाउछौं’, उनले भने ।
उनीहरूमा कोरोना संक्रमण रहे–नरहेको परीक्षण गरिनेछ ।

राष्ट्रसंघले शान्ति सैनिक लैजान यसपटक विमान पठाउने छैन । जंगीअड्डाले विमान व्यवस्थापन गरी सम्बन्धित मुलुक पठाउनु पर्नेछ । त्यसका लागि जंगीअड्डाले टेन्डर आह्वान गर्नेछ । त्यसपछि मात्र कुन विमान कम्पनीबाट उनीहरूलाई लैजाने टुंगो लाग्नेछ ।

छनोट भए पनि कोरोना जोखिमका कारण सैनिक अधिकारी मिसन जानबाट वञ्चित भएका थिए । विश्वभर कोरोना फैलिएपछि राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन फागुन तेस्रो साता जंगीअड्डालाई पत्र पठाएको थियो । नेपालबाट फौज जान नपाएपछि पुरानै टोलीले सम्बन्धित मुलुकमा शान्ति सेनाका रूपमा काम गरिरहेका छन् ।

दक्षिणी सुडान, कार, माली र लिबियामा नेपाली सैनिक अधिकारीको फरेबदल हुन पाएको थिएन । दक्षिणी सुडानका लागि पहिलो फ्लाइट असार १७ गते काठमाडौंबाट उड्ने छ । त्यसतर्फ जान ७ सय सैनिक तयारी अवस्थामा छन् ।

पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कने छन् । कार र मालीको फ्लाइट असार २३ गते हुनेछ । कारका लागि ५६ र मालीका लागि १ सय ३८ जना मिसन जान तयारी अवस्थामा छन् । लिबिया जाने २ सय ३० जनाको टोली असार ३१ गते प्रस्थान गर्नेछ । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like