पोर्चुगलमा हराइरहेका नेपाली युवा मृत फेला

लिस्वन । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिखदेखि हराइरहेका १९ बर्षीय नेपाली युवा सिद्धान्त गुरुङ मृत अवस्थामा फेला परेका छन् ।सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो । प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।प्रहरीले आज बेलुकी बुधवार मात्रै उनका परिवारलाई जानकारी गराएको थियो । मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ ।

अदालती प्रकृया पूरा गरेपश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले जनाएका छन् ।

१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८ः३० बजे नियमित ब्यायामका लागि निस्केका सिद्धान्त गुरुङको मृत्युको खबर ८ दिनपछि मात्रै परिवारले प्राप्त गरेका हुन् । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए ।

नेपालमा पोखरा बुद्धचोक स्थायी घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना बाबु आमासँग बसोबास गर्दै आईरहेका थिए ।

गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका आमा बाबुले सिद्धान्तका साथीभाइ र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए ।

कहिबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए । त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए । पोर्चुगलमा नेपाली समुदायले सिद्धान्त सम्पर्कविहीन भएपछि उनको खोजीमा ब्यापक प्रयास गरेका थिए ।

शहरका गल्लीगल्ली र सबै पार्क र मेट्रो स्टेशनमा उनको खोजी गरिनुका साथै मानिस हराएको सूचना समेत टाँस गरेका थिए । पोर्चुगलमा जुन महिनामा मात्रै तीन जना नेपालीले ज्यान गुमाईसकेका छन् । सन् २०१० यता पोर्चुगलमा ३७ नेपालीको मृत्यु भइसकेको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु शोकमा डुबेका छन् ।

 

 
 
  
 

You may also like