कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना संक्रमण पुष्टि

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । आठ जनामध्ये दुई जना महिला छन् ।

मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिए ।

संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लास्थित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

अस्पतालको इमर्जेन्सी सेवा बाहेका सबै सेवाहरु बन्द भईसकेका छन् । अस्पताल शिल गरिएको छ,’ उनले भने, ‘लकडाउनको मोडालिटीमा पनि छलफल भइरहेको छ । संक्रमण समुदायमा फैलनबाट कसरी रोक्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

 
 
  
 

You may also like