पाल्पामा पहिरो : ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पाल्पा। पाल्पाको तानसेनमा पहिरोले पुर्दा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । मृतक तीनै जना पुरुष हुन् । केही अझै पहिरोमा हराइरहेको आशंका गरिएको छ ।

तानसेन ११ मा सोमबार दिउँसो पहिरो जाँदा केही सवारी साधनलाई पहिरोले पुरेको थियो । पहिरोमा परेर दुई जनाको घटनास्थलमै र एकको उपचारको क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिएका छन् ।

पाल्पाबाट गुल्मी तर्फ जाँदै गरेको लु १ त १९२८ नम्बरको ट्रकलाई पहिरोले पुर्दा दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले ट्रक, बोलेरो जीप, कारलगायतका चार वटा सवारी साधन बगाएको थियो ।

धेरै यात्रुले भागेर ज्यान जोगाएका थिए । प्रहरीका अनुसार लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर, लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप पहिरोमा परेका थिए । घाइतेको नेपाल प्रहरी, नेपाली सेना, र सशत्र प्रहरीले उद्धार गरेका थिए ।

 
 
  
 

You may also like