सशस्त्र प्रहरीमा हाकिममाथि कुटपिट बढ्दो

काठमाडौं । सशस्त्र प्रहरी बलमा कमान्डरविरुद्ध मातहतका प्रहरी कर्मचारीले कुटपिट गर्ने क्रम बढ्न थालेको छ ।लकडाउनको अवधिमा मात्रै कमान्डरमाथि दुई कार्यालयमा कुटपिट भएका छन् । कडा अनुशासन हुने र चेन अफ कमान्डमा चल्ने सुरक्षा निकायमा हुने यस्ता घटना संवेदनशील मानिन्छ ।

सशस्त्र प्रहरीका अनुसार गत ८ वैशाखमा कपिलवस्तुको भैरहवामा सशस्त्र प्रहरीका डिएसपी मानबहादुर शाहीलाई मातहतका दुई सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल र केशवराज भट्टराईले कुटपिट गरेका थिए ।

२७ जेठमा भने कैलालीस्थित भुइयाफाँट बिओपी (बोर्डर आउट पोस्ट)का कमान्डर सशस्त्र प्रहरीका सइ रामबहादुर टेरलाई सशस्त्र प्रहरी जवान जितेन्द्र भट्ट र दीपक बोगटीले कुटेका थिए । रासनको निहुँ बनाइएको दुवै घटनामा मादक पदार्थ सेवनपछि मातहतका प्रहरी कर्मचारीले कमान्डरविरुद्ध विद्रोह गरेका थिए ।

यस क्रममा सशस्त्र प्रहरीका डिएसपी शाही मातहतका दुई प्रहरी निरीक्षकबाट मरणासन्न हुने गरी कुटिएका थिए । विद्रोहमा परेका अर्का सइ टेर पनि दुई सिपाहीबाट घाइते हुने गरी कुटिएका थिए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार डिएसपीलाई कुटपिट गर्ने दुई प्रहरी निरीक्षकमाथि कारबाही ढिला हुँदा कैलाली घटना भएको हो । स्रोतले भन्यो, ‘भैरहवामा डिएसपी शाहीलाई दुई इन्स्पेक्टरले कुटे । उनीहरूलाई कारबाही भएन । यसले अन्यलाई प्रोत्साहन गर्‍यो । सोही घटनमा कैलालीस्थित बिओपीमा दोहोरियो । त्यहाँ पनि कारबाही हुने छाँट छैन । यस्तै रहे अब कहाँ–कहाँ कमान्डर कुटिन्छन् ? ठेगान छैन ।’

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले घटना भएको र कारबाही प्रक्रियामा रहेको बताए । उनले भने, ‘भैरहवा र कैलालीको घटनाबारे हामी जानकार छौं । सशस्त्रमा कारबाही गर्ने आफ्नै प्रक्रिया छन् ।

प्रक्रियामा जाँदा केही ढिलाजस्तो देखिएला । तर, कारबाही रोकिएको या नभएको भन्ने होइन । दुवै घटनामा अनुसन्धान हुँदै छ । यस क्रममा गरिनुपर्ने प्रक्रिया सबै गरिएका छन् । परिणाम पछि आउँला ।’

सुधारको प्रयासपछि डिएसपीमाथि कुटपिट

सशस्त्र प्रहरी स्रोतका अनुसार डिएसपी शाही केही महिनाअघि मात्रै रूपन्देहीस्थित सशस्त्र प्रहरीको गुल्म सम्हाल्न पुगेका थिए । मतहतका प्रहरी कर्मचारीको अचारण शंकास्पद देखिएपछि गुल्मपति शाहीले केही सुधारका प्रयास गरेका थिए । तर, उनको कदमलाई मातहत रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईलाई ठीक लागिरहेको थिएन ।

प्राविधिकबाट सेवा सुरु गरेका भट्टराई विगत १२ वर्षदेखि सोही गुल्ममा कार्यरत थिए । डिएसपी शाहीविरुद्ध रुष्ट बनेका भट्टराई ८ वैशाखको साँझ ड्यिुटी छाडेर सहकर्मी सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल नजिकैको रेस्टुरेन्ट गएर मादक पदार्थ सेवन गरे, अनि राति अबेर गुल्मभित्र छिरे । गतिविधि निगरानी गरिराखेका डिएसपी शाहीले दुवैलाई कार्यालयमा लगेर स्पष्टीकरण लिन खोजे ।

यही क्रममा प्रहरी निरीक्षक भट्टराई र पौडेलले रासनको विषय झिके । यही विषयमा डिएसपी र प्रहरी निरीक्षकबीच विवाद भयो । विवाद कुटपिटमा बदलियो । तर, कारबाही प्रक्रिया अझै प्रभावकारी रूपमा अघि बढेको छैन ।

सशस्त्र प्रहरी स्रोतका अनुसार राजनीतिक दबाबका कारण घटनामा संलग्न दुई प्रहरी निरीक्षकविरुद्ध कारबाही प्रक्रिया अघि नबढेको हो । राजनीतिक दबाबकै कारण दुई प्रहरी निरीक्षकको ठाउँमा कुटाइ खाने डिएसपी शाहीविरुद्ध कारबाही गर्ने चरणमा सशस्त्र प्रहरी मुख्यालय पुगेको छ ।

सइमाथि जवान जाइलागे

कैलालीको भुइयाफाँटास्थित भारतीय सीमानाकानजिकै स्थापित बिओपीको कमान्डरको जिम्मा सशस्त्र प्रहरीका साइ रामबहादुर टेरले पाएका थिए । उनीमातहत १२ प्रहरी कार्यरत थिए । यही क्रममा मातहतका प्रहरी जवान जितेन्द्र भट्ट र दीपक बोगटीले सइ टेरमाथि रासन खाएको आरोप लगाए ।

मादक पदार्थ सेवन गरी आएका भट्ट र बोगटीसँग सइ टेरको विवाद भयो । यही क्रममा दुई जवानले सइ टेरमाथि आक्रमण गरे । आक्रमणमा परी सइ टेरसहित ६ प्रहरी कर्मचारी घाइते भए । तर, कारबाही प्रक्रिया यहाँ पनि प्रभावकारी ढंगले अघि बढेको छैन ।

राजनीतिक प्रभावका कारण कारबाही गर्न कठिन
सुवोधकुमार अधिकारी पूर्वएआइजी, सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी चेन अफ कमान्डमा चल्छ । यसका आफ्नै नियम र अनुशासन छन् । यस्ता नियम कमान्डरको हकमा पनि लागू हुन्छ । मातहतका कर्मचारीको हकमा पनि लागू हुन्छ । कहिलेकाहीं कमान्डर र मातहतका कर्मचारीबीचको चेन अफ कमान्ड बिग्रन पुग्छ ।

यसमा कहिले कमान्डको गल्ती हुन्छ, कहिले मातहतका कर्मचारीको । यसअघि पनि यस्ता घटना भएका हुन् । कारबाही पनि भएका छन् । तर, त्यसको परिणाम प्रभावकारी तवरले कार्यान्वयन भएको देखिएन । यसका मुख्य कारण राजनीतिक प्रभाव हो । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like