विश्वमा एकै दिन थपिए एक लाख ३८ हजार नयाँ कोरोना संक्रमित

विशवभर संक्रमितको संख्या ८३ लाख ८९ हजार नाघ्यो, चार लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर दोस्रो चरणको कोरोना संक्रमणको लहर देखिएको छ । जसका कारण विश्वका धेरै देशमा कोरोना संक्रमण र मृत्युको दर फेरि बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमणलाई करीब–करीब जितिसकेको चीनको बेइजिङमा फेरि ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ३८ हजार भन्दा धेरै नयाँ कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा एक लाख ३८ हजार ६०६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसबीचमा विश्वभर पाँच हजार दुई सय १७ जनाको संक्रमणको कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे चार लाख नाघेको वल्र्डओमिटरमा उल्लेख छ । यो तथ्याङ्क आज (बिहीबार) बिहान साढे पाँच बजेसम्मको हो ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८३ लाख ८९ हजार आठ सय ३० पुगेको छ । त्यसमध्ये ४३ लाख ७८ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसपछि अमेरिकामा आठ सय तीन जनाले ज्यान गुमाएका छन् ।
यसबीचमा मेक्सिकोमा सात सय ३०, भारतमा ३४१, चिलीमा २३२, पेरुमा २०१, पाकिस्तानमा १३६, इरानमा १२०, युकेमा १८४, रुसमा १९४, स्वीडेनमा १०२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा बुधबार एकै दिन १३ हजार एक सय तीन जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या तीन लाख ६७ हजार दुई सय ६४ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट १२ हजार दुई सय ६२ जनाले ज्यान गुमाएका छन् ।

 

 
 
  
 

You may also like