लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

काठमाडौं । सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ ।त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ । उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए । उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ ।

एक सय पाँच जना पास देखाई उपत्यकामा प्रवेश गरेका छन् । तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन् ।

प्रहरीले बिना पास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ । ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ ।’ नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like