लिम्पियाधुरा–लिपुलेक–कालापानीको यथार्थ

काठमाडौं । धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र अनकन्टार होला । भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ ।

यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ । प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले ।

२०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए । ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन् । भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको ग¥यै छ ।’

उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत श्रृंखला छ । त्यसलाई लिम्पियाधुरा पर्वत श्रृंखला भनिन्छ । त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ । लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ । लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ । छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ । त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ । यसको बीचमा हिउँले नै ओम लेखिएको छ ।

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ । भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन् । भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ । काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ। त्यहाँ बंकर छ । हेलिकप्टर बस्ने ठाउँ छ । जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ ।

कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ । त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ । गुन्जी र नाबी दुवै स्थानमा भारती सेना छ । काली नदीको किरानैकिनार उत्तर–पश्चिम कुटी गाउँ छ । नेपाल भारतको सिमाना काली नदी छ । त्यसको उदम लिम्पियाधुरा हो । कालीको उद्म लिम्पियाधुरा मानेर नेपालले हालै नयाँ नक्सा जारी गरेको छ ।

नेपालले संविधान संशोधनमार्फत बल्ल नक्सामा समेटेको यो इलाकाको भौगलिक अवस्था कस्तो छ ? त्यहाँ कुन समुदाय बस्छन् ? यी सबै चासोका विषय हुन् । नेपालको पश्चिमोत्तर सीमा क्षेत्रमा रहेको यो भूभाग दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ । यो भूभाग भारतले १ सय ४० वर्षदेखि अतिक्रमण गर्दै आएको छ ।

काली नदी किनारको कुटी गाउँ

रतन भण्डारीको पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक’ मा उल्लेख गरिएअनुसार महाकालीको सिरानीमा अवस्थित १२ व्यास सन् १८१६ को सुगौली सन्धिअघि नेपालको भूभाग थियो ।

१२ वटा गाउँ रहेकोले यस क्षेत्रलाई त्यतिबेला १२ ब्यास भनिन्थ्यो । सुगौली सन्धिले १२ व्यासलाई नेपाल र भारत दुईतिर विभाजित ग¥यो । व्यास क्षेत्र विभाजन हुँदा महाकालीवारिका कुटी, नावी, गुन्जी, छाँगरु, ऋषिगाउँ, तिङकरलगायत ६ गाउँ नेपालतिर र बाँकी ६ गाउँ भारततिर परेका थिए ।
यो सौका समुदायको थाकथलो हो ।

सौका समुदाय सीमान्तकृत जाति हो । यस जातिलाई क्षेत्री बाहुनले ‘व्यासी सौका’ तथा तिब्बतीले ‘ज्याङ्बा’ भन्छन् । व्यासी समुदायको मौलिक परम्परा र भेषभूषा छ । व्यासी समुदायमा भगवान् शिव र व्यासीऋषिको पूजाआजा गर्ने चलन छ । व्यासी समुदायले व्यास ऋषिलाई कुलगुरु र शिवलाई कुलदेवता मान्छन् ।

व्यासको जन्मजयन्तीका दिन काली नदीको किरानामा रहेको मनिलास्थित व्यास मन्दिरमा धूमधामसँग पूजा गर्ने चलन उनीहरूको छ । उनीहरूको मुख्य पेसा व्यापार हो । तिब्बतको ताक्लाकोट, भारतको धार्चुला, पिथौरागढ, झुलाभाट, दार्चुला सदरमुकाम, बझाङको चैनपुर उनीहरूका व्यापारिक केन्द्र हुन् । विगतमा उत्तरी क्षेत्रमा व्यापार गर्ने ठूला व्यापारी सौका रहेको ऐतिहासिक तथ्यले देखाउँछ ।

त्यो भूभागमा ६ महिना मात्रै मानिसको बसोबास हुन्छ । हिउँदमा जाडो छल्न तल्लो भूभागमा सर्छन् । छाङरु र तिंकरका सौका दार्चुलाको सदरमुकाम आउँछन् । अतिक्रमित भूमि कालीनदी पूर्व र लिपुखोला पश्चिममा तीन गाउँकुटी, नावी र गुञ्जीका सौका भने भारतको धार्चुलाका भूमि जान्छन् ।

अतिक्रमित भूमिमा करिब ३ हजारको बसोबास रहेको पत्रकार महासंघ, दार्चुलाका अध्यक्ष शंकरसिंह धामी बताउँछन् । ‘यथार्थ तथ्यांक त छैन् तर ३ हजार जति छन् भन्ने ठानिन्छ’, उनले भने ।

गर्मी सुरु भएपछि उनीहरू व्यास फर्कन्छन् । यसरी बसाइँ सर्नुलाई ‘कुन्चा’ जानु भन्ने गरिन्छ । लिम्पियाधुरा अतिक्रमणबारे पुस्तक लेखेका अध्येता भण्डारी प्राचीन लिखतमा व्यासी सौकाको थर नभेटिएको बताउँछन् । राणाकालीन लालमोहर, इस्तिहार र सनदमा व्यासीलाई बूढी क्षेत्री भनिएको उनले बताए ।

दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना भारत–चीनको युद्ध १९६२ देखि नाबी गुन्जी, कटीका बासिन्दासँग नेपालको सम्पर्क भारतले टुटाइदिएको बताउँछन् । ‘यता उनीहरूको सञ्चार छैन, जाडोमा पनि उनीहरू धार्चुलासम्म मात्रै आउन पाउँछन,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नेपाल आउनै दिँदैनन् ।’ केही भने अझै पनि गाईबस्तु चराउन आउने गरेको उनको भनाइ छ । उनले पनि

कुटी नाबी, गुन्जीमा करिब २ देखि ३ हजार बसोबास हुन सक्ने बताए ।
लिपुभन्ज्याङबाट आएका लिपुखोला र लिम्पियाधुराबाट आएको कालीनदी गुन्जी दोभानमा मिल्छन् । भारतले लिम्पियाधुराबाट आउने नदीको नाम नै परिवर्तन गरेर कुटियाङ्दी बनाएको छ ।

छाङरु तिङकर टाटा हुँदै तिङकर भन्ज्याङमा नेपाल र चीनको एक नम्बर पिलर छ । १९६१–६२ सीमांकनमा टिंकर भन्ज्याङबाट करिब ३ किलोमिटर उत्तर लिपुलेक भज्ज्याङसम्म रेखांकन गरिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।

नेपाल र चीनसँग सीमांकन भएर लिम्पियाधुरा पुग्नु पर्‍यो । भारतको अनुपस्थितमा त्रिदेशीय बिन्दु निर्धारण हुन सकेन । भारत र चीनबीचको युद्ध आलो घाउ भएकोले त्रिदेशीय बिन्दु टुंगिन नसकेको उनको बुझाइ छ ।

‘अब नेपाल र चीनबीच यो क्षेत्रमा सीमांकन हुनु पर्‍यो । टिंकरबाट पिलर गाड्दै सीमांकन गर्दै गर्दै पानीढलो सिद्धान्तका आधारमा अंकन गरेर लगी भारत र चीनको लाइन अफ कन्ट्रोल जोडिनुपर्छ’, उनले भने ।

दार्चुलाको सदरमुकामबाट कालापानी ९६ किलोमिटर छ । कालापानीबाट लिपुलेक भन्ज्याङ १० किलोमिटर छ । कालापानीबाट छाँगरु १४ किलोमिटर र तिङकरबाट २२ किलोमिटर उत्तरपूर्व छ । लिपुलेक भन्ज्याङबाट १६ किलोमिटर चीन ताक्लाकोट बजार छ ।

त्यो भूभागको क्षेत्र नेपालको नक्सा बनाउँदा जानकारी गराइएको छैन । तर सीमाविद् श्रेष्ठले लिम्पियाधुरा क्षेत्रमा ३१० र कालापानी लिपुलेक क्षेत्रमा ६२ वर्गकिलोमिटर गरी ३७२ वर्गकिलोमिटर रहेको बताउँदै आएका छन् । पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको सीमा अध्ययनसम्बन्धी प्रतिवेदनमा लिम्पियाधुरा क्षेत्रमा ३३५ र कालापानी, लिपुलेक क्षेत्रमा ६० वर्गकिलोटिर भूभाग रहेको उल्लेख छ ।

तर नापी विभागका पूूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठ र सीमा बचाउँ अभियानको नक्सा समिति ७ देखि ८ सय वर्गकिलोमिटर भूभाग हुन सक्ने बताउँदै आएका छन् । श्रेष्ठले नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ९ सय ५० वर्गकिलोमिटरको हाराहारीमा हुने बताउँदै आएका छन् । नापी विभागले त्यसको आधिकारिक रूपमा जानकारी नगराएपछि त्यो भूभागको यकिन क्षेत्रफल भने आएको छैन ।

कालापानीसम्म गएर आएका राजनीतिज्ञ एवं अध्येता ऋषिराज लुम्साली कौवासम्म समथर पाटन राम्रो भूभाग भएको बताउँछन् । उनी गुन्जी हुँदै कौवासम्म पुगेका थिए । यहाँभन्दा माथि कालो पत्थर चट्टान छ। धुपी सल्ला र घागरु वनस्पति त्यहाँ पाइन्छ । उनका अनुसार २०१८ तिर गुन्जी दोभानसम्म गुरुङ समुदायको बसोबास भेटिएको छ । त्यसभन्दा माथि कुटी र नाबीमा सौका समुदायको बसोबास छ । त्यहाँ फापर कोदो जस्ता अन्न मात्रै फल्छ ।

‘नक्सा र खोला फेर्दै भारतले त्यहाँका जनताको मानसिकतामा परिवर्तन गराएको छ’, उनले भने, ‘उनीहरूलाई नेपालमा नागरिकता दिने र तिरोतिरन गर्ने व्यवस्थाको पहल थाल्नुपर्छ । अनि मात्र गुमेको भूमि पाउन दबाब पर्छ ।’ अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like