विप्लवद्वारा सरकारको कामको प्रशंसा

काठमाडौं। भारतले कब्जामा लिएको नेपाली भूमि फिर्ताका लागि सरकारले लिएको अडान र कदमको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रशंसा गरेका छन् ।

‘विप्लव’ ले एक विज्ञप्ती जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारको यस कदमको प्रशंसा गरेका हुन् । तर, पनि जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

विप्लवले भनेका छन्, ‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’ नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभई, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन पनि विप्लवले सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।’ उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

उनले थप छन्, ‘हाम्रो पार्टी देशमाथिका कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिबद्धता स्पष्ट गर्न चाहन्छु ।’

 
 
  
 

You may also like