रौतहटका क्वारेन्टाइनमा बसेका युवा र प्रहरीबीच झडप, दुई राउन्ड हवाई फायर

रौतहट । पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै रौतहटको राजपुरस्थित क्वारेन्टाइनमा बसेका युवाले शनिबार सडक अवरुद्ध गरेका छन् ।

राजपुर–१ स्थित तीनवटा क्वारेन्टाइनमा रहेका तीन सय पाँचजनाले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

उनीहरू क्वारेन्टाइनमा बसेको १८ देखि २० दिन पुगेको छ । स्वाबको नमुना संकलन गरिएको पनि एक साता भएको छ । तर, अझै रिपोर्ट आउने ठेगान नभएपछि उनीहरू आन्दोलित भएका हुन् । छिटो पिसिआर रिपोर्ट दिनुपर्ने माग गर्दै गौर–चपुर सडकखण्डको बहुअर्बामा सडक अवरुद्ध गरेका हुन् । रिपोर्ट आउन ढिलो भएपछि उनीहरूले प्रदर्शन गरेको वडाध्यक्ष शेख अरिरुल्लाहले बताए ।

क्वारेन्टाइनमा बसेका युवाले सडक अवरुद्ध गरेपछि प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरीले हटाउन खोज्दा ढुंगामुढा प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताए ।

‘क्वारेन्टाइनमा बसेका युवाले प्रहरीमाथि ढुंगामुढा गर्दै क्वारेन्टाइन छोडेर भाग्न खाजेपछि बल प्रयोग गर्नुपरेको हो,’ डिएसपी महतोले भने, ‘दुई राउन्ड हवाई फायर र १४ सेल अश्रुग्यास प्रहार गरिएको छ ।’

उनीहरूको ढुंगा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । झडप हुँदा क्वारेन्टाइनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमै राखेको छ । अहिले सबै क्वारेन्टाइनमा रहेको र स्थिति सामान्य बनेको डिएसपी महतोले बताए । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like