बालुवाटारमा प्रदर्शन गर्नेमाथि पानीको फोहरा, १० जना पक्राउ

काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लंघन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई पानीको फोहरा हानेर हटाइएको र नियम उल्लंघन गर्ने १० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लंघन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो ।

उनीहरुले संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लंघन गरेको प्रहरीले जनाएको छ ।
सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।

२५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै प्रहरीले उनीहरुलाई तितरवितर पार्न लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको थियो । धर्नामा सहभागीहरुले कोरोना परीक्षणका लागि ‘आरडीटी’ नभई ‘पीसीआर टेस्ट’ गर्नुपर्ने माग गरेका थिए ।

सरकारले कोरोनाका नाममा खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब दिनुपर्ने उनीहरुको माग थियो । धर्नामा बसेकाहरुले ‘लकडाउन’का बेला सरकारले व्यापारीलाई कर तिर्न ताकेता गरेकोमा समेत विरोध गरेका थिए ।

धर्नामा सहभागीहरुले ‘सरकारको सरोकार कार्पेट कि पीसीआर ?’, ‘शतप्रतिशत पीसीआर परीक्षण गर’, ‘कर केका लागि ?’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

सरकारले जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिंडडुल गर्ने क्रम बढेको छ । प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ ।

 
 
  
 

You may also like