तिलोत्तमा हत्या अपडेट : आरोपितले कसुर स्वीकार्दै भने, ‘दुःख दिने गरेकाले फरुवाले हानें’

बुटवल । रुपन्देहीको तिलोतमामा पाँच जनाको सामुहिक हत्याको आरोपमा पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरेका छन् । स्थानीयले घेरेर पक्राउ गरी प्रहरीमा बुझाएका सुर्खेत भर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका हुन् । गए राति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा पाँच जनाको सामुहिक हत्या भएको थियो ।

घटनापछि भुस गोदाममा लुकेको अवस्थामा स्थानीयले सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । स्थानीयको भीडले घेरेपछि उनी बेहोस भएर ढलेका थिए । गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए ।

उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको हो ।

‘शुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बयान दिएका छन्’, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने, ‘उनीहरुले दुःख दिने गरेकाले हत्या गर्नु परेको उनले बताएका छन् ।’

सिंजालीले साथीहरुले दुःख दिएका कारण फरुवाले हानेर पाँचै जनाको हत्या गरेको स्वीकार गरे पनि किन र कसरी दुःख दिए भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । गाउँलेले घेरेपछि उनी बेहोस भएका कारण विस्तारै थप अनुसन्धान हुँदै जाने एसपी थापा बताउँछन् ।

घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार नभएको खुलेको छ ।

उनीहरु के कारणले त्यहाँ गए भन्ने पनि खुलिसकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।

 
 
  
 

You may also like