अतिक्रमणको भुमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको प्रष्ट पार्दै ती भूभाग फिर्ता ल्याइने बताएका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्रिपरिषद बैठकले सोमबार नेपालको नयाँ नक्सा पारित गरेको जानकारीसमेत दिए । उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक कालापानीसहित हाम्रो भूभाग हो,’ उनले भने ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको प्रतीक चिन्ह परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा ल्याइने पनि उनले जानकारी दिए । उनले संविधान संशोधनको उक्त प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गरे । पारित भएको दिन सबैले दिपावली मनाउने समेत बताए ।

उनले २०१८ सालसम्म कालापानीदेखि लिम्पियाधुरासम्म जनगणना गर्ने, तिरो तिर्ने काम भइरहेको जिकिर गर्दै त्यसपछि त्यहाँ तिरो तिर्ने काममा भारतीय पक्षबाट अवरोध भएको र तत्कालीन शासकहरुले ती भूभागका बारेमा चासो नराखेको आरोपसमेत लगाए ।

सरकारले अतिक्रमित भूभाग फिर्ता ल्याएरै छाड्ने दावी गर्दै उनले नयाँ नक्सा पारित गर्नु त्यसकै एक प्रक्रिया भएको बताए । उनले भने, ‘तमासा गरिएको होइन, देखावटी गरिएको होइन । फिर्ता लिनका लागि गरिएको हो ।’

‘अब लिम्पियाधुरा, लिपुकेक, कालापानीको विषय ओझेलमा पर्न दिइने छैन, हाम्रो भूभाग फिर्ता लिन्छौं,’ उनले भने ।

उक्त भूभागमा कुनै प्रकारको विवाद नरहेको उनको भनाइ छ । भारतले बेकारको ‘अकुपाइ’ गरेर विवाद बनाएको उनले बताए ।

 
 
  
 

You may also like