सरकारी कार्यालय आइतबारबाट सञ्चालन हुने, कर्मचारीलाई हाजिर हुन निर्देशन

काठमाडौं । सरकारले जारी गरेको लकडाउनयता बन्द रहेका सरकारी कार्यालय भोलि (आइतबार) बाट पूर्ववत रुपमै सञ्चालन हुने भएका छन् ।बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्र कुमार पौडेलले गत बुधबारको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी गराइएको र कार्यालयहरुले त्यही निर्णयअनुसार आवश्यक काम गर्ने बताएका छन् ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेकाले कार्यालयहरु सुनसान छन् ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सम्बन्धमा चार बुँदामा निर्णय गरेको छ ।

१) बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अतिआवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२) अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने ।

३) सार्वजनिक सेवा संचालन गर्ने प्रयोजनका लागि उपत्यकाभित्रका सार्वजनिक निकायका हकमा सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरुको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेका कूल सवारी साधनहरु मध्ये एक चौथाइ संख्यामा नबढ्ने गरी सवारी पास उपलबध गराउने ।

४) उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम् सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने ।

 
 
  
 

You may also like