संकटको मुखमा ओली, असफलतातिर दुवै अस्त्र

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले देशको सबैभन्दा ठूलो दल र सरकारको पहिलो पोजिसनमा छन् । उनी मुलुकका प्रधानमन्त्री मात्रै होइनन्, दुई तिहाई बहुमतनजिक रहेको पार्टीको पहिलो वरियताको अध्यक्ष पनि हुन् ।

ओलीको आफ्नै शैली छ । ०६८ वैशाखमा झलनाथ खनाल प्रधानमन्त्री थिए । उनले काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर सरकार असफल भएको भन्दै राजीनामा मागे । उनले भर्खरै बनेको आफ्नै पार्टीको सरकार केही दिन मात्रै पनि रहे मुलुकलाई घाटा हुने आरोप लगाएका थिए ।

आज सोही दिनको पुनरावृत्ति भएको छ । उनी प्रधानमन्त्रीको कुर्सीमा छन् भने यस्तै माग गरिरहेका छन् झलनाथ खनाल र अन्य नेताहरु । शैली र समयको हिसाब गर्दा ओली अहिले राजीनामा माग्नेभन्दा थप निर्मम थिए र उनको शैली रुख्खासुख्खा थियो ।

Dish_Home
यही शैली अहिले ओलीका लागि अप्ठेरो बनेको छ । उनको पार्टी र सरकार दुवैतिरको नेतृत्व अहिले संकटमा छ । पार्टीमा छलफल नगरी दुईवटा अध्यादेशहरु ल्याएपछि प्रतिपक्षी दलभन्दा अगाडि आएर उनकै पार्टीका नेताहरुले अहिले उनको राजीनामा मागिरहेका छन् ।

पार्टीभित्र माधव नेपाल र प्रचण्ड लगायतका नेताहरु एकजुट छन् । आफूविरुद्ध ल्याएको प्रस्ताव बैठक बोलाएर ‘फेस’ गर्न डराइरहेका छन् । बैठक अगाडि उनी केही अस्त्रहरु चलाउन चाहन्थे । ती सबै असफलताको नजिक छ ।

पहिलो अस्त्र हो ‘अर्ली महाधिवेशन’को बोलाएर माधवलाई अध्यक्ष बनाउने प्रस्ताव । यो प्रस्ताव केटाकेटीलाई ललिपप देखाएजस्तो छ । माधव समूहले ओलीको यो प्रस्तावलाई जालसाझीको रुपमा बुझेको छ । पटकपटक धोका र अपमान व्यहोर्नुपरेको ओलीको यो प्रस्तावलाई माधव नेपालले सिधै अस्वीकार गरेका छन् । किनकि, असोजमा महाधिवशेन कुनै पनि मूल्यमा सजिलो र सम्भव छैन भन्ने माधव समूहको तर्क छ ।

ओलीले अहिलेको संकट टार्न मात्रै यो अस्त्र चलाएको उक्त समूहको निष्कर्ष छ ।

ओलीसँग सहमतिका लागि दुईमध्ये एक पद छाड्नुपर्ने बटमलाइन माधव नेपालले दिएका छन् । जुन माधवको मात्रै नभएर प्रचण्ड, वामदेव, झलनाथ लगायत सबैको साझा माग हो ।

पूर्वएमालेका रुपमा अध्यक्ष पद छाडे प्रधानमन्त्रीमा ओलीलाई कायम रहन दिने माधवको तयारी थियो तर त्यसलाई स्वीकार नगरेको अवस्थामा अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने निष्कर्षमा प्रचण्ड-माधव समूहले गृहकार्य सुरु गर्नेछन् ।

ओली समूहको अर्को अस्त्र हो- पूर्वमाओवादी निकट सांसदहरु ल्याएर संसदीय दलमा बहुमत पुर्‍याउने । झण्डै १० जना सांसद पुर्‍याउनु पर्ने अवस्थामा ओली समूह छ । यसका लागि आफू निकट केही सञ्चार माध्यम प्रयोग गरेर होहल्ला गर्ने र एउटा होहल्लाको अवस्था सिर्जना गरेर संख्या पुर्‍याउने रणनीति पनि असफलतातिर पुगेको छ ।

लेखराज भट्टले नेकपा नेता भीम रावलसँगको टकरावलाई लिएर ओलीलाई सघाउन तयार भएको बताए पनि अन्य नेताहरु यसका लागि तयार छैन । अर्का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफूले गुट परिवर्तन नगरेको दाबी गरेका छन् ।

सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै उनले आफू नेकपाको सिपाही रहेको र कुनै गुटमा नरहेको बताएका छन् । उनले स्पष्टरुपमा स्थायी समितिको बैठक बोलाउन माग गरेका छन् ।

प्रचण्डले आफैं टेलिफोन गरेर अवस्था स्पष्ट गर्न आग्रह गरेपछि उनले बुधबारसम्म विज्ञप्ति नै निकाल्ने आश्वासन दिएको खुमलटार स्रोतले जनाएको छ । अर्का नेता दिनानाथ शर्मा मंगलबार बिहानै खुमलटार पुगेर आफूले केही दिनअघि पार्टी फुट्नु हुँदैन भनेर दिएको अभिव्यक्तिलाई लिएर हल्ला गरिएको र आफूले गुट नफेरेको स्पष्ट पारेको खुमलटार स्रोतले जनाएको छ ।

प्रभु शाहले भने माधव नेपालसँगको टकरावको अवस्थालाई लिएर असन्तुष्टि व्यक्त गरे पनि अन्तिममा उनले प्रचण्डलाई नछाड्ने स्पष्ट पारिसकेका छन् । अर्का नेता देवेन्द्र पौडेलले पनि आफू बालुवाटार पनि नगएको र ओलीले समस्या सुरु गरेको हुनाले समाधान पनि उनले नै गर्नुपर्ने धारणा सञ्चारमाध्यममार्फत् राखिसकेका छन् ।

बादल मौन रहेको अवस्थाले ओलीको आत्मविश्वास बढेको भए पनि उक्त समूहमा रहेका देव गुरुङ, पम्फा भुसाल लगायतका नेताहरु ओलीलाई सघाउने पक्षमा छैनन् । गुरुङले सञ्चार माध्यममा आफ्नो धारणा स्पष्ट पार्दै आएका छन् ।

बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक अगाडिसम्म दुवै समूहले हिसाब किताब र जोडघटाउ गर्दै टाउको गन्ने र तान्ने क्रमलाई जारी राख्ने अवस्था भने देखिन्छ ।

 
 
  
 

You may also like