१६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, ३५ जनाको उपचार हुँदै

काठमाडौं ।वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।

नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीया पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ५१ पुगेको छ भने निको हुनेको संख्या १६ पुगेको छ ।

संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ । प्रवक्ता डाक्टर देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौं उपत्यका सहित देशभरका अस्पतालमा १ सय १० जना जना आइसोलेसनमा रहेका छन् ।

 
 
  
 

You may also like