रवि लामिछाने ५ लाख धरौटीमा रिहा

by समतल अनलाइन

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत चितवनले रविलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो । रविसँगै पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स अस्मिता भनिने रुकु कार्कीलाई तारेखमा राखेर मुद्दाको पर्पक्ष गर्न अदालतले आदेश जारी गरेको छ ।

धरौटी तिरेर रिहा भएपनि रविले अदालतको अनुमति बिना देश छाडेर बाहिर जान पाउने छैनन् । अदालतले नेपालभन्दा बाहिर जान रविलाई अदालतसँग अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरेको छ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका थिए । प्रहरीका अनुसार पुडासैनीले आत्महत्या गरेका थिए ।

पुडासैनीको शवसँगै फेला परेको उनको मोबाइलमा भेटिएको भिडियोसहित अन्य प्रमाणका आधारमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

अदालतले तीनै जनामाथि अनुसन्धान गर्न ५–५ दिनका लागि २ पटक गरी १० दिनका लागि म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको म्याद सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसुर समेत गरेको अभियोग लगाएको थियो । सरकारी वकिल कार्यालयले तीनैजनालाई मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) बमोजिम ५ वर्ष जेल र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको थियो ।

 
 
  
 

You may also like