४७ हजार ४९६ जनाको कोरोना परीक्षण, कुन प्रदेशमा कति ?

देशभर १२ हजार ९८५ व्यक्ति क्वारेन्टाइनमा, थपिएनन् नयाँ संक्रमित

काठमाडौं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमण देखिएयता नेपालमा हालसम्म ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको छ ।

नेपालमा हालसम्म पीसीआर प्रविधिबाट ९ हजार ४०७ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा तीन हजार ७९१ नयाँ परीक्षण भएको आज आयोजित नियमित्र पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

हालसम्म प्रदेश–१ मा तीन हजार ९२९, प्रदेश–२ मा चार हजार ९७७, बागमती प्रदेशमा ७ हजार १४३, गण्डकी प्रदेशमा ४ हजार ७८३, प्रदेश–५ मा २ हजार ८७४ कोरोना परीक्षण भएको छ ।

यस्तै कर्णाली प्रदेशमा ४ हजार ८७० र सूदुरपश्चिम प्रदेशमा ९ हजार ५१३ परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । उनले अहिलेसम्म देशभर १२ हजार ९८५ जना व्यक्तिरु क्वारेन्टाइनमा रहेको बताएका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा तीन र उपत्यका बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेको समेत उनले बताए । अहिलेसम्म कूल संक्रमित ४८ जना छन् भने १० जना निको भएर घर फर्किइसकेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजिकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको जानकारी गराएका छन् ।

उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए । उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक–एक जना रहने छन् । हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए । प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताएका छन् ।

यस्तै प्रवक्ता देवकोटाले शुक्रबार कोरोना भाइरस संक्रमण भएका कुनै पनि नयाँ बिरामी नथपिएको बताए । उनले प्रदेश–१ मा परीक्षणको दायरालाई बढाइए पनि नयाँ संक्रमण फेला नपरेको बताएका छन् । तर उदयपुरबाट ७८ जनाको स्वाब नमुना संकलन गरी कोशी अस्पतालमा पठाइएको उनले बताए ।

यस्तै प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सयभन्दा बढी स्वाब नमुना संकलन गर्ने उद्देश्यसहित टोली परिचालन गरिएको उनले जानकारी दिए । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना लगायतका स्वास्थ्यकर्मी र प्रयोगशालाका प्राविधिकहरुको टोली आजै परिचालन गरिएको उनले बताए ।

 
 
  
 

You may also like