सुर्खेत । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो ।
नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।
द्रुत गतिमा काम अगाडि बढिरहेको कर्णाली करिडोरको तीन हप्ताअघि बन्दाबन्दीसँगै रोकिएको थियो । ‘नेपाली सेनाको विकास निर्माण दलले रोकिएको काम थाल्ने तयारी गरेको छ’, कार्कीले भने । उनी कर्णाली करिडोरको खुलालु लैफु कवाडी हुँदै सलीसल्ला सडक निर्माण दलका आयोजना प्रमुख हुन् ।
त्यस सडक खण्डमा नेपाली सेना र कामदार गरी तीन सय बढीले काम गर्दै आएका थिए । सेनाले त्यस सडक खण्डको १२३ किलोमिटर निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अघिसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्रयाक खोल्ने कार्य पूरा भएको छ । गोरखापत्र दैनिकबाट