लकडाउनपछि ह्वातै बढ्यो खाद्यान्न र औषधि आयात

काठमाडौं। लकडाउनपछि खाद्यवस्तु तथा अत्यावश्यक सामानको आयात ह्वात्तै बढेको छ । बजारमा अभाव सिर्जना हुन नदिन सरकारी निकायसँगै निजी क्षेत्रले आपूर्ति बढाएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउनको पहिलो साताको तुलनामा ६१४ प्रतिशतसम्म आयात वृद्धि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी दुग्धजन्य वस्तुको आयात बढेको छ ।

पहिलो सातामा औषधि आयात कम भए पनि तेस्रो हप्तामा यो बढेको छ । दोस्रो साताको तुलनामा औषधि ६८ प्रतिशत बढी आयात भएको तथ्यांकले देखाउँछ । लकडाउन अवधिमा ७५ करोड १२ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ । औषधिको कच्चा पदार्थ मात्रै १३ करोड ५ लाख रुपैयाँको भित्रिएको छ ।

लकडाउन सुरु भएपछि २३ दिनमा ५७ हजार चार सय १२ टन खाद्यान्न आयात भएको छ । दाल मात्रै १७ हजार पाँच सय ३० टन आयात भएको छ । तरकारीको आयात पहिलो साताको तुलनामा ६२ प्रतिशतले बढी भएको छ भने फलफूल व्यापक मात्रामा भित्रिएको छ ।

यस अवधिमा आयातित तरकारी ३१ हजार टन छ भने फलफूल ७ हजार चार सय ८३ टन छ । सामान ओसारपसार गर्ने मुख्य नाकाबाट बिना रोकतोक सामान भित्रिएका छन् । काँकडभिट्टाबाहेक अन्य प्रमुख नाका चालु छन् । भारतको पश्चिम बंगालको सरकारले आफ्ना नाकाहरू बन्द गरेकाले उक्त नाका बन्द छ ।

पर्याप्त मौज्दात

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा २०,९२४ मेट्रिक टन चामल (यसमध्ये ३,९१५ मेट्रिक टन दुर्गमका जिल्लामा), ६१० क्विन्टल फापर र ५६० क्विण्टल सिमी मौज्दात रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट उपत्यकाका रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुरस्थित बिक्री केन्द्रका साथै घुम्ती सेवा पसल (मोबाइल भ्यान) मार्फत उपभोक्ताको मागअनुसार सरकारबाट लागू गरिएको लकडाउनपछिको प्रत्येक दिन निरन्तर रूपमा खाद्यान्न बिक्री वितरण भइरहेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट देशका ८ वटा अञ्चल कार्यालयसहित आधुनिक चामल कारखाना, राजापुर, देशका विभिन्न स्थानमा रहेका २६ वटा शाखा कार्यालयका साथै दुर्गम जिल्लाका विभिन्न स्थानस्थित ५९ वटा डिपो कार्यालय र बिक्री केन्द्र एवं सहकारी र वितरण केन्द्र समेतबाट खाद्यान्न (चामल) बिक्री वितरण भइरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभिन्न जिल्लास्थित २४ वटा कार्यालय र तिनबाट नियुक्त वितरण केन्द्रका साथै देशका विभिन्न दुर्गम स्थानमा रहेका ५७ डिपो र बिक्री केन्द्रबाट उपभोक्तालाई सरल, सहज र सहुलियत मूल्यमा आयोडिनयुक्त नुन बिक्री भइरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट ललितपुर, कालिमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका घुम्ती सेवा पसलमार्फत जनघनत्व र उपभोक्ताको माग भएका स्थानलाई प्राथमिकता दिएको छ । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like