डिस्चार्जका लागि अन्तिम रिपोर्ट कुर्दै संक्रमित ६५ वर्षीया महिला
बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत २० गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
‘उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौं’, धवलागिरी अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले भने, ‘अर्को रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ ।’
महिला १५ दिनदेखि अस्पतालको आइसोलेशन वार्डमा उपचाररत छिन् । उनको स्वास्थ्यावस्था सामान्य रहेको पोखरेलले बताए । हाल उनलाई उच्च रक्तचाप र दमको मात्र पुरानै औषधि चलाइएको छ ।
उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की संक्रमित बागलुङ–४ की १९ वर्षीया युवतीको चौथो जाँचको रिपोर्ट भने पोजेटिभ आएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ ।