र्‍यापिड टेस्ट पोजेटिभ देखिएका झापा र चितवनका युवामा भेटिएन कोरोना संक्रमण

काठमाडौं। र्‍यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ देखिएका झापा र चितवनका युवाको पीसीआर परीक्षण रिपोर्ट ‘नेगेटिभ’ (संक्रमण नभएको) आएको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणका क्रममा चितवनका युवाको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

गएको चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

यस्तै राप्ती नगरपालिकामा गएको चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा ¥यापिड डायग्नोस्टिक परीक्षणका क्रममा शंकास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।

उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्‍यापिड डायग्नोस्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पीसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।

यता र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए ।

यसअघि झापाको हल्दीबारीमा बुधबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ती युवकमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

त्यसपछि ती युवकसहित उनको परिवारका सदस्य र आफन्तसहित २१ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । अरुको रिपोर्ट भने आउन बाँकी छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेसिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ ।

 

 
 
  
 

You may also like