आज साउन महिनाको दोस्रो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्ने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव यो दिनलाई विशेष मानिन्छ । अझ श्रावण महिना र सोमबारको विशेष महत्व छ । श्रावण महिना शिवजीको महिना र सोमबार स्वामीको रुपमा लिइने राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जनाए ।

उनले भने, ‘शवको अर्थ कल्याण हो । विधिपूर्वक शिवको आराधना गर्दा सबैको कल्याण चाहने शिव तत्काल प्रसन्न हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास छ ।’

त्यसो त देवताहरुमा सर्बोत्कृष्ट भगवान शिवको उपासना गर्ने परम्परा वैदिककालदेखि नै चलेको पाइन्छ ।

साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव , सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनामा भगवान शिवलाई जलधारा अर्पण गर्न विभिन्न स्थानमा बोलबम यात्रा पनि निकालिन्छ । शिवलाई जलधारा अर्पण गरेमा इच्छित कामना पूर्ण हुने आकांक्ष्ाँका साथ पहेंलो वस्त्र धारण गर्दै शिवभक्तहरु नजिकका शिवालयमा पुग्ने गर्छन् ।

 
 
  
 

You may also like