कोरोनाको कहर : काठमाडौंदेखि सर्लाहीसम्मको १८७ किलोमिटर दूरी पैदलै यात्रा

काठमाडौं। कान्ति लोकपथअन्तर्गतकोे तीनपानेमा लस्करमा मिसिएर हिँड्दै थिए, २७ वर्षीय नीरज बम्जन । मध्यान्ह १२ बजेको चर्को घाम परवाह नगरी हिँड्नेमा नीरजसँगै उनका भाइ र दुई साला पनि थिए । उनीहरू ललितपुरको इमाडोलबाट बुधबार बिहान १० बजे चिउरा र चाउचाउ खाएर निस्किएका रहेछन् । पोकापन्तुरा बोकेका उनीहरू पसिनाले निथ्रुक्कै भएका थिए ।

आसपासका कसैलाई वास्तै नगरी हिँडिरहेका उनीहरूको अगाडि हामीले मोटरसाइकल रोकेपछि झस्किए । तर्किन खोजेपछि हामीले उनीहरूलाई रोकेर प्रश्न सोध्यौँ । उनीहरूले सर्लाही जान लागेको जवाफ दिए ।

नीरजले भने, ‘सर्लाही जान लागेको, के गर्नु हजुर, यहाँ बसेर रोगले भन्दा भोकले मर्ने भयौं । गाउँ गए त आटोपिठो खाएर भए पनि बाँचिन्छ नि ।’ उनीहरू पाँच वर्षदेखि ललितपुरका विभिन्न क्षेत्रमा घर बनाउने काम गर्दै आएका रहेछन् ।

लकडाउनपछि ठेकेदारसँग पैसा माग्दा बाहिर निस्कन नसकेको र पैसा नउठेको बताएपछि उनीहरू गाउँ जाने निष्कर्षमा पुगेका रहेछन् । स्थानीय सरकारले दिने राहतको भर नभएको नीरजले बताए ।

उनले भने, ‘सरकारले दिने राहत पाइने–नपाइने निश्चित छैन । त्यसमा पनि ठूलाठालुकै हालिमुहाली होला ।’ नीरजले श्रीमती र छोरालाई भने मंगलबार नै एम्बुलेन्सबाट सर्लाही पठाएको बताए । उनीहरू इमाडोलबाट तीनपाने आइपुग्दा विभिन्न स्थानमा प्रहरीले अवरोध गर्‍यो ।

तर, उनीहरूले भोकले मर्नुभन्दा रोगले मर्न जाती भन्दै अनुनयविनय गरेर फुत्केको बताए । नीरज बम्जनका २१ वर्षीय भाइ अम्बरले भने, ‘१५ दिनसम्म त जेनतेन काठमाडौंमै बस्यौँ । भएको पैैसा सबै सकियो । भोकै मर्नुभन्दा रोगले मरे मरिन्छ भनेर हिंडेका हौं । प्रहरीलाई पनि हामीले यस्तै जवाफ दिने गरेका छौँ ।’

तीन दिनमा १८७ किलोमिटर यात्रा गर्ने लक्ष्य

लकडाउन खुल्ने आसमा उनीहरू १५ दिनदेखि कोठामा भएको दाल, चामल, तरकारी खाएर बसे । तर, लकडाउन अझै बढ्ने थाहा पाएपछि पैदलयात्रामै एक सय ८७ किलोमिटर पार गर्ने गरी सर्लाहीतर्फ लागेका हुन् । उनीहरूले तीन दिनसम्ममा सर्लाही पुग्ने लक्ष्य लिएका छन् ।

नीरजले बाटोमा कतै किराना पसल खुलेको भेटे बिस्कुट, चाउचाउ किनेर लैजाने बताए । उनले भने, ‘हामीसँग चिउरा त छ, यसले नपुग्ला । त्यसैले बाटोमा बिस्कुट किन्दै खाएर जान्छौं ।’ नीरज बम्जन जस्तै काठमाडौं उपत्यकाबाट दैनिक सयौँ मानिस कहीँ प्रहरीसँग सवालजवाफ गर्दै त कहीँ प्रहरीको आँखा छलेर बाहिरिने गरेका छन् । कान्ति लोकपथ हुँदै बारा, पर्सा, सर्लाही, रौतहट र मकवानपुरलगायतका जिल्ला जानेको दिनरात लस्कर हुन्छ ।

रोकेर रोक्न सक्ने अवस्था छैन : जनप्रतिनिधि

पछिल्ला १५ दिनमा कान्ति लोकपथबाट मात्रै दुई हजारभन्दा बढी मानिस बाहिरिएको प्रहरीहरू बताउँछन् । भट्टेडाँडा प्रहरी चौकीका प्रमुख असई मोहनकुमार भडेलले भने, ‘हाम्रो स्रोतसाधनले भ्याएसम्म पैदलयात्रा गर्ने नागरिकलाई सचेत बानाएका छौँ । तर, हाम्रो प्रयासका बाबजुद हिँडेरै तराईका विभिन्न जिल्ला गइरहेका छन् ।’

सहरी क्षेत्रमा नै पैदलयात्रा गर्ने मानिसलाई नरोक्दा ग्रामीण क्षेत्रमा खटिएका प्रहरीलाई समस्या परेको भडेलको भनाइ छ । बागमती गाउँपालिकाकी उपाध्यक्ष रञ्जना तिमल्सिना घिमिरेले जनप्रतिनिधि र प्रहरीले अथक प्रयास गर्दासमेत पैदलयात्रा गरी ललितपुरबाट बाहिरिने मानिसलाई रोक्न नसकेको बताइन् ।

उनले भनिन्, ‘उनीहरूलाई रोक्न खोज्दा कि खान देऊ कि जान देऊ भन्छन् । रोकेर रोक्न सक्ने अवस्था छैन ।’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खिमराज भुषाल भने पैदलै तराईका जिल्लामा सर्वसाधारण गइरहेकोबारे रिपोर्ट नभएको बताउँछन् । रिपोर्ट भएमा उनीहरूलाई तत्काल रोकिने उनले बताए ।

नागरिकलाई भोकै पार्दैनौं : खिमराज भुषाल
सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता
लकडाउन सफल पारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न राष्ट्र लागेको छ । यस विषम परिस्थितिमा नागरिकले पनि दायित्व निर्वाह गर्न जरुरी छ । नागरिकलाई भोकै नराख्ने राज्यको जिम्मेवारी हो ।

उनीहरू लस्कर लगाएर बाहिरिएका हुन् भने सम्बन्धित गन्तव्यमा समेत कोरोना संक्रमणको जोखिम हुन सक्छ । उनीहरूलाई भोकै नराख्न सरकार लागिपरेको छ । प्रशासनको आँखा छलेर उपत्यका बाहिरिनु गलत हो । हामीले लकडाउन उल्लंघन गर्नेलाई कारबाही गरेका छौं । यसलाई निरन्तरता दिइनेछ ।

स्थानीय त्रसित

राजधानीका बल्खु, भक्तपुर, कान्ति लोकपथलगायतका नाकाबाट दैनिक सर्वसाधारण पैदलै सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, मकवानपुर र सुनसरीलगायतका जिल्लातर्फ लागेका छन् ।
कान्ति लोकपथबाट दिउँसो फाटफुट मानिस हिंडे पनि बिहान ४ बजेतिर र राति १० बजेपछि डेढ–दुई सयको लस्कर हुने स्थानीय बताउँछन् ।

तीनपानेमा होटेल चलाउँदै आएकी सुस्मिता तामाङले भनिन्, ‘राति टर्च बालेर लस्कर लागाएर मानिस हिँड्छन् । होटेल त बन्द छ । तर, रातको समयमा लस्कर लगाएर टर्च बाल्दै हिँड्ने मानिसका कारण डर लाग्छ ।’ नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like