अमेरिकामा पाँच सय नेपाली कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं । अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण अन्य देशको चीब्र गतिमा एकबाट अर्कोमा सरिरहेको छ ।

तीब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणले अमेरिकी नागरिकलाई मात्र नभई नेपालीहरुलाई समेत समस्यामा पारिरहेको छ । हालसम्म अमेरिकामा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।

गत साता कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको ज्यान गइसकेको छ । पाँचथर घर भएका लिम्बू अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा एक्ला नेपाली हुन् । तर, उनी जस्तै विभिन्न शिलशिलामा अमेरिकामा रहेका नेपालीमूलका अमेरिकी, नेपाली भाषी एवं नेपाली यस कोरोनाको माहामारीको मारमा परेका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्ष तथा पेशाले चिकित्सक समेत रहेका डाक्टर केशव पौडेलका अनुसार अमेरिकामा करिब पाँच सय नेपाली कोरोना भाइरसको संक्रमित छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । तर यसको स्वतन्त्ररूपमा पुष्टि भइसकेको छैन ।

कति नेपाली संक्रमित छन् भन्ने कुराको आधिकारिक डाटा नभए पनि त्यहाँ रहेका नेपालीमा मनोवैज्ञानिक त्रास बढी रहेको उनले बताएका छन् । अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न टेलिफोन लाइन र अनलाइन फर्म खुला राखेको छ ।

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरिएको जानकारी दिएका छन् ।

नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्छन् । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जि्निया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।

अमेरिकाको ५० वटै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।

 

 
 
  
 

You may also like