सफल मानिसहरुका सामान्य तर जीवन बदल्ने १० साझा आनीबानीहरु

by समतल अनलाइन

सफल कसरी बन्ने ? सामान्य मानिसहरुको जिन्दगीभरको चासो यहि हुन्छ तर धेरै मानिसहरु सफल हुनुलाई भाग्यको खेल वा चमत्कारका रुपमा मात्रै सम्झन्छन् । यस्तो सोचाइले उनीहरुको जिन्दगीबाट सफल हुने सम्भावनालाई पर पुर्याउँने मात्रै होइन, सफलता हाशिल गरेका मानिसहरुको जीवन र संघर्षको पनि बदनामी गर्छ । सफलता संयोग, चमत्कार वा भाग्यको खेल होइन ।

कुनै मानिसले आफ्नो उमेरको साह्रै लामो समय कुनै कामका लागि वा त्यसको जग तयार गर्नको लागि लगानी गरेको हुन्छ । त्यो समय बिचमा उसले असाध्यै धेरै कठिनाइ र अफ्ठ्यारो भोगेको हुन सक्छ तर अरुको लागि उसको भोगाइ र परिश्रमको अर्थ हुदैन । जब सो मानिसको परिणाम निस्कन्छ र उसले कुनै कुरामा सफलता पाउँछ, तब मानिसहरु उसको सफलताभित्रको कथा नबुझी केवल संयोग, चमत्कार वा भाग्यको खेल भन्न थाल्छन् ।

तर के सफलता त्यस्तो सजिलो वा चामत्कारिक कुरा हो त ? पक्कै पनि होइन । सफल हुनका लागि धेरै कुराहरुको गठजोड मिलेको हुनु पर्छ । त्यो भन्दा पहिले व्यक्ति आफ्नो विशेषता फरक रहेको हुनु पर्छ । यसका लागि सफलता पाइसकेका मानिसहरुको जीवनी, उनीहरुको आनीबानीको अध्ययन गरेर हामीले केहि निष्कर्ष निकाल्न सक्छौ । उनीहरुको बारेमा थाहा पाएर हामीले आफ्नो जीवनमा त्यसलाई प्रयोग गर्न सक्छौँ ।

यो लेखमा सफल हुनु भन्नुको अर्थ सम्पति कमाउँनु, कुनै ठुलो पदमा पुग्नु वा धाक जमाउँनु होइन । सफल हुनुको अर्थ उदाहरणिय बन्नु हो । प्रिय र प्रंशसनिय बन्नु हो । यहाँ मैले त्यस्तै सफल मानिसहरुको १० यस्ता साझा आनीबानीहरुको बारेमा लेख्दैछु, जुन सामान्य छन् तर त्यसको उपयोगले जीवन बदल्न सक्छ ।

१. उनीहरु आफ्नै ज्ञान र अनुभवबाट सिक्छन्

बुद्धले भनेका छन्, “अप्पो दिपो भव” यसको अर्थ हो, आफ्नो उज्यालो आफै बन । अर्थात, संसारमा कसैको अनुभव कोहीसँग मिल्दैन । अरुको हेरेर वा अरुको कुरा सुनेर लिएको जानकारी भन्दा आफुले प्रयोग गरेर हाशिल गरेको ज्ञान आफ्नो लागि बढि उपयोगी हुन्छ ।

सफल हुने मानिसहरुले पनि आफ्नो जीवनमा जानी जानी वा अञ्जानवश बुद्धको यहि वाणीको प्रयोग गरेका हुन्छन् । उनीहरु आफुले नै केहि गर्न खोज्छन् । कुनै कम्पनीमा केवल जागिरे भएर समय बिताएका हुदैनन् । उनीहरु नयाँ कुरा प्रयोग गर्न खोज्छन् र नयाँ कुरा गर्न खोज्दा खोज्दै उनीहरु सामान्य मानिसले सोच्न नसक्ने स्थानमा आफुलाई पुर्याउँछन् ।

२. उनीहरु आफुलाई प्रोत्साहित गर्छन्

तपाईले आफ्नो जीवनमा भोगिसकेको कुरा हुन सक्छ । तपाईले कुनै नयाँ कुरा जान्न वा गर्न खोज्नु भयो र त्यसको बारेमा अरुलाई सोध्नु भयो भने धेरै जसोको जवाफ नकारात्मक वा निरुत्साहित पार्ने किसिमको नै पाउँनु हुन्छ । सफल हुने मानिसहरुको जीवनमा पनि यस्ता मानिसहरु भेटिन्छन् तर पनि उनीहरु रोकिदैनन् ।

सबैका कुरा सुन्नु तर निर्णय आफुले गर्नु, सफल हुने मानिसहरुले आफ्नो जीवनमा यहि सुत्र प्रयोग गरेका हुन्छन् । अफ्ठ्यारो बेला होस् या असफलताको समयमा होस्, सफल हुने मानिसहरुले आफुलाई नै प्रोत्साहित गरिरहन्छन् । उनीहरुको अरुको भरमा पर्दैनन् । अरुले किन नराम्रो भन्छन् भन्ने कुरामा ध्यान दिन्छन् तर त्यसले आफ्नो बाटो फेर्दैनन्, बरु सुधार्छन् ।

३. उनीहरु सफल भएको कल्पना गर्छन्

साकार पार्नलाई पहिले सपना चाहिन्छ । सपना नै नभइ साकार पार्नु केलाई ? सफलता चिठ्ठाको पुरस्कार जस्तो हो । चिठ्ठा पार्नुको पहिलो शर्त हो, चिठ्ठा किन्नु । हुन त हामीले संयोगलाई हटाएर गुणहरुका कुरा गरिरहेको समयमा चिठ्ठाको उदाहरण नमिल्दो लाग्न सक्छ तर चिठ्ठालाई यहाँ सांकेतिक रुपमा मात्रै लिइएको हो ।

सफल मानिसहरु आफुले गरेको काममा सफलता भएको सपना पटक पटक देखिरहन्छन् । उनीहरुमा त्यो सफलताको कल्पनामात्रैले पनि नयाँ उत्साह दिन्छ । उनीहरु सफलताको पुर्वतयारी पनि गरिरहन्छन् तर केवल कल्पना गरेर मात्रै समय बर्बाद गर्दैनन् । कल्पनाशीलतालाई सृजनात्मक बनाउँछन् । त्यसलाई उर्जाका रुपमा प्रयोग गर्छन् ।

४. आफ्नो विचार प्रति सचेत हुन्छन्

सपना देख्ने वा कल्पना गर्ने बित्तिकै त्यसको पछि लागिहाल्ने बानी हुन्न सफल हुने मानिसहरुको । उनीहरु आफ्नो विचार, कल्पना र सपनाका बारेमा सचेत हुन्छन् । व्यवहारिक हुन्छन् । आफ्नो विचार कतिको व्यवहारिक छ, कतिको हाशिल गर्न सकिने छ भन्ने कुरामा उनीहरु सचेत हुन्छन् ।

मान्छेको विचारले मान्छेको गन्तव्य र भविष्य निर्धारण गर्छ । तपाईको कस्तो सोच्नु हुन्छ भन्ने कुराले तपाईको खुसी वा दुख के भाग लाग्छ भन्ने टुंगो गर्छ । सफल हुने मानिसहरुको जीवन नियाल्नु भयो भने तिनीहरुले जीवनको कुनै अबधी वा घटना पछि यस्ता कुराहरुमा ध्यान दिन थालेको देखिन्छ ।

५. आफ्नो बोली वचनलाई नियन्त्रणमा राख्छन्

नेपालीमा एउटा गीत छ – कोही बोलीमा रस हुन्छ, कोही बोलीमा रिस । सफल भएका मानिसहरुले यसमा ख्याल गरेका हुन्छन् । कुन बेला बोलीमा रस भर्ने र कुन बेला बोलीमा रिस भर्ने भन्ने उनीहरुले महसुस गरेका हुन्छन् । उनीहरुको बोली वचनमा उनीहरुको नियन्त्रण हुन्छ । कुनै आवेगमा बहकिएर वा भावनामा उर्लिएर कसैको मन दुखाउँने वा कसैप्रति अनावश्यक मिठास भर्ने दुष्कर्मबाट उनीहरु टाढा हुन्छन् ।

६. सकारात्मक भएर संवाद गर्छन्

सफल मानिसहरुसँग कुरा गर्नु भयो भने थाहा पाउँनु हुनेछ, उनीहरुमा गजबको सकारात्मक सोच हुन्छ । उनीहरु नकारात्मकता भित्र पनि सकारात्मक कुराहरु देख्छन् । उनीहरु अथाह सम्भावनाका कुरा गर्छन् ।

मानौँ, तपाईले कुनै नयाँ कुरा गर्न लाग्दै हुनुहुन्छ । त्यहि कुरा लिएर तपाई मानिसहरुलाई भेट्नुहोस् । धेरैले त्यसका नकारात्मक कुरामा जोड दिन्छन् । तपाईको जस्तै कुरा सोच्नेहरु कसरी असफल भए भन्ने कथा सुनाउँछन् र तपाईलाई निराश बनाउँछन् । तर सफल मानिसहरुलाई भेट्नुहोस् । उनीहरु तपाईको कुरामा सकारात्मक कुराहरु देख्छन् । तपाईलाई प्रोत्साहित गर्छन्, त्यो पनि एकदमै व्यवहारिक धरातलमा रहेर ।

७. उनीहरु उत्सुक हुन्छन्

सफल हुने मानिसहरुमा म नै सबै भन्दा जान्ने हुँ भन्ने घमण्ड हुदैन । उनीहरु जति सक्दो धेरै जानकारी र ज्ञान लिन चाहन्छन् । उनीहरु सामान्य भन्दा सामान्य मानिसहरुका कुराहरु पनि ध्यान दिएर सुन्छन् । उनीहरुको कुराहरु जान्न उत्सुक हुन्छन् । यो सामान्य मान्छे भन्दा म बढि जान्ने छु भन्ने कुराको छनक कतै पनि उनीहरुमा पाइदैन ।

८. हास्यव्यंग्य र मनोरञ्जन गरेर रमाइलो गर्छन्

सफल हुनुको अर्थ काम र काम मात्रै होइन । जति बेलै चिन्तनशील हुनु पनि होइन । प्राय: सफल हुने मानिसहरु बिन्दास देखिन्छन् । उनीहरु साना भन्दा साना कुरामा ठट्टा गर्न सक्छन् । रमाइलो गर्दै दिनलाई झन् राम्रो बनाउँछन् । उनीहरुको वरिपरी बस्दा अरुलाई पनि खुसीको अनुभव हुने गर्छ ।

९. कसरत गर्छन् र दैनिक समयतालिका बनाउँछन्

कसरत गर्नु खाली सिक्स प्याक बनाउँनु मात्रै होइन । कसरतको शारिरिक स्वास्थ्य र मानसिक स्वास्थ्यसँग साह्रै ठुलो सम्बन्ध छ । सफल मानिसहरु कसरत गरेर तन्दुरुस्त बस्छन् । यसले गर्दा उनीहरुमा सिर्जनशीलता बढ्छ । अध्ययनले पनि देखाएको छ, कसरतका रुपमा आफ्नो लागि समय खर्च गर्नेहरु अन्य मानिस भन्दा आत्मविश्वासी र खुसी हुन्छन् ।

१०. आफ्नो गल्ति स्विकार्छन्

गल्ति स्विकार्न सानो मनले सकिदैन । गल्ति गरेको थाहा भए र नस्विकारे त्यो दिमागमा बोझ भएर बस्छ । सफल मानिसहरु यस्तो बोझ लिएर बस्न चाहदैनन् । उनीहरु आफ्नो गल्ति स्विकार्छन् । यसले उनीहरुलाई कमजोर वा असक्षम देखाउँदैन, बरु उल्टो महान बनाउँछ ।

 
 
  
 

You may also like