दार्जिलिङमा कोरोनाबाट एक महिलाको मृत्यु, इलामका सीमावर्ती गाउँमा चिन्ता

महिलाको सम्पर्कमा आएका १४ जनालाई राखियो क्वारेन्टाइनमा

दार्जिलिङ। नेपालबाट केहि घण्टाकै यात्रामा पुग्न सकिने भारतको दार्जिलिङमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

दार्जिलिङको काबेलुङ निवासी एक ४५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो उ। उनलाई चैत १५ गते कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलमा उपचारका क्रममा उनको ज्यान गएको हो ।

उत्तर बंगालमा पहिलो पटक कोरोना भाइरसबाट मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनी गएको फागुन २४ गते छोरीको उपचारका लागि कालेबुङबाट चेन्नइ गएकी थिइन् ।

कालेबुङ फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनी १३ चैतमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलाका परिवारका सदस्य र उनका सम्पर्कमा आउने १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । महिलाको पहिलो स्वास्थ्य जाँच गर्ने दुई डाक्टर पनि अहिले होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

यता दार्जिलिङकी महिलाको कोरोनाबाट ज्यान गएपछि भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती गाउँहरुमा चिन्ता फैलिएको छ । नेपाल–भारत दुवै देशमा लकडाउन भए पनि दार्जिलिङ र इलामका नागरिक विभिन्न नाकाबाट आउजाउ गर्न सक्ने अवस्था भएका कारण कोरोनाको संक्रमण सहज फैलन सक्ने अवस्था छ ।

दार्जिलिङका धेरै मानिस इलामका सदरमुुकामलगायत विभिन्न नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्दै बसेका छन् । दार्जिलिङबासी र इलामका धेरै व्यक्तिको वारी–पारी वैवाहिक र व्यवसायिक सम्बन्ध भएका कारण पनि कोरोना संक्रमण भित्रिन सक्ने जोखिम बढी रहेको जानकार बताउँछन् ।

 
 
  
 

You may also like