कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीले विश्राम नलिने

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड–१९ कोरोना भाइरसको संक्रमण देखएिको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्रीमा गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा पोजिटिभ देखिएको हो ।

प्रधानमन्त्री जोनसनलाई माइल्ड लक्षणहरु देखा परेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अब उनी १० डाउनिंग स्ट्रिटस्थित प्रधानमन्त्री निवासमै सेल्फ आइसोलेसनमा बस्ने छन् ।

इङल्याण्डका चिफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विटीको आग्रहमा प्रधानमन्त्रीको परिक्षण गरिंदा कोरोना संक्रमण पाइएको थियो । संक्रमण भएपनि यस संकटको समयमा प्रधानमन्त्री जोनसनले आफ्नो जिम्मेवारीबाट विश्राम नलिने उनको कार्यालयले जानकारी दिएको छ ।

बेलायतमा कोरोना संक्रमण आक्रामक रुपमा फैलिरहेको छ । हालसम्म यहाँ कोरोनाबाट ५७८ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या करिब १२ हजार पुगिसकेको छ ।
दुई दिनअघि बेलायती युवराज चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण पाइएको थियो । हाल उनी स्कटल्याण्डस्थित आफ्नो निवासमा आइसोलेसनमा छन् । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like