भोलिबाट पूरै देश लकडाउन

काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो।

अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ।

यसअघि स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतार हुँदै गत साता नेपाल आएकी एक छात्रामा कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएको थियो। ती छात्रालाई टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ। यसैगरी सरकारको अत्यावश्यक सेवाबाहेकको कार्यालय बन्द गर्ने निर्णय गरेको छ। कर्मचारीहरुलाई घरमै तयारी अवस्थामा रहने निर्देशन दिइएको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीलाई घरमा रहन भनिने छ।

त्यसैगरी समितिले नाका क्षेत्रमा भेला भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिन र क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

 
 
  
 

You may also like