वडाध्यक्षले छोरी मानेर गरिदिए दलित युवतीको विवाह

सिरहा । सिराहाका विभिन्न ठाउँमा कथित दलित भन्दै छुवाछुत र दुव्र्यवहारका घटना भइरहेका वेला एक जनप्रतिनिधिले आफ्नै घरमा बस्दै आएकी मुसहर युवतीको छोरी जसरी विवाह गरिदिएका छन् ।

गोलबजार नगरपालिका–६ का वडाध्यक्ष वसन्त लामाले बिहीबार आफ्नै आँगनमा जग्गे राखेर नरहा गाउँपालिका–५ का जितन सदायकी जेठी छोरी २१ वर्षीया अंकिता भनिने अमरवती सदायको विवाह गरिदिएका हुन् ।

विवाहको कर्म सकेर रुँदै बिदा हुन लागेकी अंकितालाई सम्झाउँदै लामा दम्पतीले ‘नयाँ घरमा सबैलाई रिझाएर राम्ररी घर गरेर खानू’ भन्दै आशीर्वाद दिएर अन्माए ।

‘६ वर्षकै उमेरमा सडक दुर्घटनामा आमा घुर्नीदेवीलाई गुमाएकी अंकितालाई बाबु जितनले लालनपालन गर्न नसकेपछि १५ वर्षअघि आफ्नै घरमा ल्याएर राखेँ,’ वडाध्यक्ष लामाले भने, ‘घरमा दुई छोरा र एक छोरी थिए, अंकितालाई पनि छोरी मानेर लालनपालनसहित हुर्काएँ ।’ ‘गाउँकै विद्यालयमा पढाएँ’ उनले भने, ‘विवाह गर्ने उमेर भएकाले आफैले केटा खोजिदिएर विवाह गरिदिएको हुँ ।’

अंकिताको विवाह धनगढीमाई नगरपालिका–९ मुसहर्नियाका २३ वर्षीय बेदी सदायसँग भएको हो । ‘चारचोटि दुलहाको घर पुगेर परिवारसँग कुराकानी गरेपछि विवाह गरिएको हो,’ वडाध्यक्ष लामाले भने, ‘विवाहमा आएका जन्तीको खानपिन, दुलहा र दुलहीलाई एकसरो लत्ताकपडा, गरगहना गरी करिब अढाई लाख रुपैयाँ खर्च भयो ।’

गाउँलेहरूले पनि गरे गोडधुवा
गाउँकी छोरीचेलीको विवाह हुँदा गोडधुवा हाल्ने समाजको चलनअनुसार बिहीबार अपरान्हसम्म वडाध्यक्षको घर रहेको टोलका तामाङ समुदायका प्रायः हरेक घरका महिला पुरुष अंकिताको विवाहमा गोडधुवासहित निम्तो मान्न पुगेका थिए ।

‘कान्छी छोरी जसरी हुर्काएकी अंकिताको विवाहमा गाउँलेहरूलाई चुले निम्तो दिएको थियाैं,’ वडाध्यक्ष पत्नी अलकाले भनिन् ‘गाउँलेहरू पनि विवाहमा आएर गोडधुवासँगै दुलही र दुलहालाई टीका लगाइदिएर दक्षिणा दिए ।’

स्थानीय किसन लामाले आमा गुमाएपछि अप्ठ्यारोमा रहेकी अंकितालाई आफ्नै छोरी जसरी लालनपालन गरेर विवाहसम्म गरिदिएर वडाध्यक्षले उदाहरणीय काम गरेको बताए । ‘कथित दलित भन्दै दुव्र्यवहार गर्ने समाजमा आमा गुमाएकी टुहुरीलाई छोरी जसरी लालनपालन गरी विवाह गरिदिनु सह्रानीय काम हो,’ उनले भने ।

अंकितालाई अन्माएपछि वडाध्यक्ष लामाले भने जितनकी अर्की छोरीको पनि बिहे गरिदिन लागेको जानकारी दिए । ‘जेठीको विवाहपछि उनकी बहिनी श्यामवतीको पनि विवाहको तयारी गर्दैछु,’ लामाले भने ।

दुलहाको घर परिवारसँग बसेर कुराकानी टुंग्याएपछि सम्भवतः आगामी वैशाखमा उनको पनि विवाह गरिदिने योजना उनको छ । ‘पत्नी गुमाएपछि विक्षिप्त बनेका जितनको बस्नेसमेत टुंगो नभएकाले कान्छीको पनि विवाह गरिदिँदैछु,’ लामाले भने । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like