उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० को मृत्यु

कोना । उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकार प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतका अनुसार लुटेराको करिब सय जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउँमा आइतबार बिहान मस्जिदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए । ‘गाउँलेको हत्यापछि गाउँमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए,’ नाइजेरियाको सांसद जैयद इब्राहिमले भने ।

लुटेराहरूले स्थानीय दर्जनौं घरमा आगजनीसमेत गरेको पनि बताइएको छ । नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले बताए ।

‘लुटेराहरूले स्थानीयलाई उनीहरू बस्ने इलाकाबारे सेनालाई सूचना दिएको भन्दै गोली हानेका घटनाबाट उम्किन सफल एक घाइतेले बताएका छन्,’ केरावाले भने, ‘हामीले शनिबार ५१ जनाको सनाखत गरेका छौं । घटनामा घाइते भएका दर्जनौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक संख्या बढ्नसक्ने देखिएको छ ।’

कादुनाका प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरु भएको बताएका छन्। नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ । नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउँलेको सम्पत्ति लुट्न र अपहरण गर्ने क्रममा वर्षेनी सयौंको हत्या गर्ने र गाउँमा आगो लगाउने गरेका छन् । एजेन्सी

 

 
 
  
 

You may also like