संसद्मा प्रधानमन्त्री : सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेका छन् ।

सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद् समक्ष कामको फेहरिस्तसहित करिब डेढ घन्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विकासको सूचकांकले तथ्यांकका रूपमा मात्र नभएर जनताले अनुभूति गर्ने अवसर पाएको बताए ।

उनले राष्ट्रिय सभा निर्वाचन, स्थानीय तह र संसद्को उपनिर्वाचनमा देखिएको परिणामदेखि आर्थिक र मानव विकास सूचकांक हुँदै सूचना प्रविधि र पुनर्निर्माणको क्षेत्रमा देशले हासिल गरेको प्रगतिका १५ सूची अनुभूति गर्न सकिने सूचीका रूपमा प्रस्तुत गरे । ‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ ? गर्छु होइन, गरें भन्नुप¥यो । काम गरेको देखिनुप¥यो नि, तथ्य खोइ ? भन्ने सुन्थें ।’

अहिले परिवेश अलि भिन्न देखिएको छ । यो एक वर्षदेखि एउटा थेगोजस्तै अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ ? बुझ, भन्न ेजस्ता कुरा सुनिन थालेको छ,’ इन्डेक्समा नभएर इम्प्रेसनमै कुरा राख्न खोजेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा वेलावेलामा म विस्मित हुने गर्छु । भनौँ कि जस्तो पनि लाग्छ, ठीकै छ । अंकमा होइन, अनुभूति नै सही इन्डेक्स होइन, इम्प्रेसनकै कुरा गरौं न त !’

पहिलोलाई आधार वर्ष र दोस्रोलाई विकासको आरम्भ वर्षका रूपमा सरकारले लिएको चर्चा गर्दै उनले कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धता पूरा हुने दाबी गरे । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने बलियो जगमा खडा भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना र दृढतासहित अघि बढिरहेको बताए ।

आफ्नो सरकार बन्नुअघि तराईमा शीतलहर र हिमाली क्षेत्रमा जाडोले कठ्यांग्रिएर ज्यान गुमाउने गरेकामा दुई वर्षयता कसैले पनि ज्यान गुमाउनु नपरेको विषय अनुभूति गर्न सकिने उनको भनाइ थियो ।

४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तोकिएको समयभित्रै पुनर्निर्माण गरिएको र जुनसुकै विमान पनि उड्न र बस्न सक्ने गरी विमानस्थल व्यवस्थित गरिएको उनले बताए । ‘धेरै ठाउँमा एयरपोर्टहरूको विकास, विस्तार गरिएको छ र रात्रिसेवाहरू पनि अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ३२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय र झण्डै ९२ हजार आन्तरिक उडान हुने गरेका छन् । यो अंक पनि हो र अनुभव पनि,’ प्रधानमन्त्री ओलीले भने ।

२४ वर्षदेखि चर्चामा सीमित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आफूले शिलान्यास गरेको १७ महिनामै सम्पन्न भएको, दक्षिण एसियामा नेपाल यसै अवधिमा पहिलो खुला दिसामुक्त मुलुक घोषणा गरेको उनको भनाइ थियो । त्यस्तै, ८९ प्रतिशत जनसंख्याको आधारभूतस्तरको खानेपानीमा पहुँच पुगेको, दुई वर्षमा तराई–मधेसका २० जिल्लामा चार सय ११ किलोमिटर ढल निर्माण गरिएको तथ्यांक पनि सदनसमक्ष प्रस्तुत गरे ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडामा आधुनिक प्रविधियुक्त स्यानेटरी ल्यान्डफिल्ड साइट निर्माणको पहिलो चरणको काम आगामी चैतभित्र सम्पन्न हुने बताए । सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढ्नुलाई पनि अनुभव नै हुने तहमा समृद्धिको झल्को दिन सकिने ओलीको भनाइ थियो ।

त्यस्तै, ६६ प्रतिशत जनसंख्याले इन्टरनेटको सुविधाको उपभोग गरेको, सबै जिल्लामा फोरजी सेवा पुगेको, भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण भएका तीन लाख ७४ हजार निजी घर, तीन सयभन्दा बढी सरकारी भवन र दुई हजार ६ सयभन्दा बढी विद्यालय भवन बनेको विषयलाई पनि उनले तथ्यांक मात्र नभएर अनुभूति गर्न सकिने प्रगतिका रूपमा अथ्र्याए ।

प्रधानमन्त्रीको ‘समृद्धि आँकडा’

प्रधानमन्त्री ओलीले नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० प्रमुख मुलुकहरूको पंक्तिमा समावेश भएको बताए । गणतन्त्र स्थापनापछिको एक दशकसम्म आर्थिक वृद्धिदर चार प्रतिशत मात्र रहेकामा तीन वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि भइरहेको र दुई वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा माथि बढेको सूचकांक प्रस्तुत गरे । गरिबीको रेखामुनि रहने प्रतिशत १.५ बिन्दुले घटेको र अहिले ८० लाख जनसंख्या गरिबीको रेखामुनि रहेकामा आर्थिक वर्षको अन्त्यसम्म करिब ४८ लाख मात्रै रहने उनले बताए ।

शिक्षित बेरोजगारलाई सीप र उद्यमशीलतासहितको उच्चस्तरको रोजगारीमा ल्याउने काम बाँकी रहे पनि उनीहरूमा उद्यमशीलता विकास गर्दै स्वरोजगारी बढाउने तयारी रहेको बताए ।

प्रधानमन्त्री ओलीले व्यापार घाटा ६ प्रतिशतले कम भएको, विगतमा भन्दा २६ प्रतिशतले निर्यात बढेको र आयात चार प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साहप्रद वृद्धि भइरहेको दाबी गर्दै आर्थिक वर्षमा झन्डै दुई खर्बको लगानी प्रतिबद्धता थपिएको र लगानी बोर्डले गत डेढ वर्षमा तीन सय २३ अर्बबराबरको वैदेशिक लगानी स्वीकृत गरेको पनि संसद्लाई जानकारी गराए ।

त्यस्तै, सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भएको उनले तथ्यांक प्रस्तुत गरे । ‘यस अवधिमा कुल तीन हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको छ । तीन हजार पाँच सय ७९ किलोमिटर ग्राभेल स्तरको सडक निर्माण भएको छ । बितेका दुई वर्षमा मात्रै तीन सय २५ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका छन्,’ प्रधानमन्त्रीले भने ।

उनले विद्युत्मा पनि प्रगति भएको दाबी गरे । ‘पाँच सय मेगावाटभन्दा तलै सीमित थियो । केही समयअघिसम्म दिनको १८ घन्टासम्म लोडसेडिङ भोग्न बाध्य थियौँ । अहिले विद्युत्को कुल जडित क्षमता एक हजार दुई सय ८६.६१ मेगावाट पुगेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यससँगै लोडसेडिङको पूर्ण अन्त्य भएको मात्र होइन, छिमेकी भारतलाई विद्युत् बिक्री समेत गर्न थालिएको छ ।’ त्यस्तै, करको दर नभई दायरा बढाउन खोजेको, दूधको उत्पादन उत्साहजनक रहेको, अन्डा तथा माछा मासुको उत्पादनमा मुलुक आत्मनिर्भर भइसकेको प्रधानमन्त्रीको दाबी थियो ।

तीन वर्षे प्राथमिकता–कनेक्टिभिटी

प्रधानमन्त्रीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, रक्सौल–काठमाडौं र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बाँकी तीन वर्षको सरकारको ‘ड्रिम प्रोजेक्ट’ भएको सुनाए । ‘तिनीहरूमध्ये रेलमार्ग गेमचेन्जर परियोजनाभित्र पर्छ,’ उनले थपे, ‘यसै आर्थिक वर्षभित्र जयनगरदेखि बिजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ ।’ उनले पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयारी भएको, काँकडभिट्टा–इनरुवा खण्डको यसै आर्थिक वर्षभित्र निर्माण अघि बढ्ने बताए ।

उत्तरतर्फको रेलमार्ग निर्माणलाई सहज तुल्याउन टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेँसी सुरुङमार्ग प्राथमिकताको शीर्ष स्थानमा रहेको, नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको प्रारम्भसँगै नेपाल सुरुङमार्ग निर्माणको युगमा प्रवेश गरेको उनको भनाइ थियो । थानकोट–चित्लाङ, खुर्कोट–चियाबारी र फेदीखोला–नयाँ पुलमा सुरुङमार्गको अध्ययन सुरु भएको, सिद्धबाबामा विस्तृत परियोजना प्रतिवेदनको तयारीसहित १० अर्ब विनियोजन गरिएको उनले बताए ।

त्यस्तै, पूर्व(पश्चिम राजमार्गलाई चारदेखि ६ लेनमा स्तरोन्नति गर्ने काम सुरु भएको जानकारी गराए । मेलम्ची र माथिल्लो तामाकोसी यसै वर्षमा सकिनेमा ढुक्क रहन आग्रह गरे । पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको उनको भनाइ थियो । एमसिसीले नेपालको अर्थतन्त्रको तस्बिर नै बदल्ने उनले बताए । अमेरिकी सरकारको ५० अर्ब र नेपालको १३ अर्ब लगानी रहेको एमसिसी पूरा हुँदा अर्थतन्त्र, वैदेशिक व्यापार, ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित भएको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार

प्रधानमन्त्रीले नेपालसँग सम्बन्ध विस्तार गर्न अन्तर्राष्ट्रिय जगत्को अभिरुचि बढेको बताए । आफूले बेलायत र फ्रान्सको भ्रमण दुई दशकपछि प्रधानमन्त्रीको हैसियतमा गरेको, १७ वर्षपछि परराष्ट्रमन्त्रीको अमेरिका र १४ वर्षपछि रुस भ्रमण भएको बताए ।

चीनका राष्ट्रपतिको २३ वर्षपछि भ्रमण सम्पन्न हुनुलाई उनले उपलब्धिमा राखे । ‘भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा चार पटक भ्रमण भएको छ,’ उनले भने, ‘पहिले हामी अन्तर्रा्ष्ट्रिय मञ्चहरूमध्ये एसिया सोसाइटीमा मात्रै सीमित देखिन्थ्यौँ ।

अहिले एसिया सोसाइटीका अतिरिक्त डाबोस फोरम, अक्सफोर्ड, होची मिन्ह युनिभर्सिटी, राष्ट्रसंघीय शान्ति विश्वविद्यालय जस्ता विश्वप्रसिद्ध फोरमहरूमा विचार प्रस्तुत गरेका छौँ ।’ विश्वस्तरको फोरम सगरमाथा संवाद पनि सुरु गर्न लागेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like