कृषिलाई उद्योगसंग जोडौं : मुख्यमन्त्री पोखरेल

by समतल अनलाइन

बुटवल।प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिको पहिलो आधार कृषि भएको बताउँदै कृषिलाई उद्योगसंग जोड्न सकेमात्रै उपलब्धि हासिल हुने बताउनु भएको छ । प्रदेश पाँचको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।

उहाँले कृषिमा आधुनिकिकरण, व्यबसायिक बिकास तथा बजारीकरणमा जोड दिँदै कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढ्ने प्रदेश सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । सोही अनुसार लगानीकालागि प्रदेश भित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी समेत गराउनु भयो । उहाँले आगामी बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी गराउँदै लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत हुने परियोजनामा समेत प्रदेश भित्रकै लगानी कर्ताहरु प्राथमकितामा राखिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका उद्योगलाई जिवन्तता दिनकालागि सरकारले सोंच बनाएको बताउँदै गुल्मीको कफिलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकालागि पनि सरकारले पुलको रुपमा काम गर्ने जानकारी गराउनु भयो । प्रदेशमा औद्योगिक बिकासकालागि तीन स्थान (रुपन्देही, दाङ् र बाँके)मा औद्योगिक क्षेत्र स्थापना गरिने बताउँदै अहिलेपनि यी क्षेत्रमा उद्योगमा लगानी बढीरहेको उल्लेख गर्नुभयो ।

सामुदायिक बिद्यालयको पठनपाठनमा गुणस्तर बृद्धि गरि प्राबिधिक शिक्षालाई अंगाडी बढाउने, स्थास्थ्य क्षेत्रको स्तर बृद्धिकालागि लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजना र राप्ती प्रादेशिक अस्पतालको स्तर बृद्धिमा सरकार लागेको उहाँले जानकारी गराउनु भयो । मुख्यमन्त्री पोखरेलले विपद व्यबस्थापनकालागि प्रदेश आफै सक्षम हुनेगरी प्रदेश तालिम केन्द्रको निर्माण गर्ने लक्ष्य लिईएको बताउनु भयो । प्रदेशको सुरक्षा बिधेयक ड्राफ्ट हुँदै गरेको जानकारी गराउँदै उक्त विधेयक आएपछि त्यो काम अंगाडी बढ्ने बताउनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले अन्य प्रदेश भन्दा यो प्रदेश सबैकुरामा अंगाडी रहेको जानकारी गराउँदै चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा पुँजीगत खर्च १८ प्रतिशत भएको जानकारी गराउनु भयो । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी रहेको पनि उहाँले स्मरण गर्नुभयो ।

सोही अवसरमा प्रदेश सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकद्वारा ३५ जनालाई विभुषित गरिएको थियो भने साफ गेममा प्रदेशबाट सहभागि भई पदक विजेता खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । त्यस्तै प्रदेश स्थापना दिवसमा प्रदर्शन गरिएको झाँकीमा उत्कृष्ट प्रदर्शन गर्ने १३ समुहलाई क्रमवद्ध रुपमा पुरस्कृत गरिएको थियो ।

 
 
  
 

You may also like