नेपाली युवकको भारतमा गोली हानी हत्या

by समतल अनलाइन

राजविराज । सप्तरीका एक २२ वर्षीय युवकको भारतमा गोली हानी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो ।

बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै काम गर्न भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन–८ का अनिल यादवसँगै रहेको जनाइएको छ । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।

पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like