कांग्रेस बैठकमा गच्छदारको २ घण्टा ब्रिफिङ, ‘सबै प्रयास गर्दा पनि मुद्दा लाग्यो’

by समतल अनलाइन

काठमाडाैं ।–बैठकमा गच्छदारले २ घण्टा सम्बोधन गर्दै अख्तियारबाट मुद्दा नलागोस् भनेर आफूले चालेका राजनीतिक भेटघाट र कदमको एक–एक व्याख्या गरे । गच्छदार बोलिरहँदा सबै केन्द्रीय सदस्यले ध्यानपूर्वक सुने, उनीप्रति धेरैको सहानुभूति पनि देखियो । उनले खुमबहादुर खड्काको प्रसंग उठाउँदै भने मुद्दा लाग्दैमा गच्छदार सकियो भन्ने नठान्नुहोला गच्छदार कहिल्यै सकिँदैन ।

–त्यसपछि गच्छदारले थपे ‘अख्तियारबाट मुद्दा नलागोस् भनेर मैले राष्ट्रपति भेटें, प्रधानमन्त्रीलाई भेटें, नेकपाका अध्यक्ष प्रचण्डलाई भेटें, माधवकुमार नेपालसँग पनि कुरा भयो, सुवास नेम्वाङलाई पनि भनें, हाम्रै पार्टी सभापतिसँग लगातार छलफल भयो, सभापतिमार्फत पनि उच्च राजनीतिक नेतृत्वमा संवाद गराएँ, तर पनि मुद्दाबाट बच्न सकिएन । राजनीतिक पूर्वाग्रह राखेर मुद्दा लगाइयो, यो कांग्रेसमाथिको आक्रमण हो ।’

–गच्छदारले भावुक सम्बोधनपछि कांग्रेसको निर्णय आयो, ‘अख्तियारले प्रस्तुत गरेको अभियोगपत्र आफैमा विरोधाभासपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले के प्रस्ट गर्दछ भने आयोगले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ । यो कार्य राजनीतिक पूर्वाग्रह र बदनियतले प्रेरित छ ।’

मुद्दापछि कांग्रेस
२२ माघ– कांग्रेस प्रवक्ताले भने ‘मूल माछालाई रातो झण्डा ओडाएर जोगाउने, विपक्षीलाई रातो डन्डा लगाएर सोझ्याउने प्रयत्न भयो ।’
२३ माघ – आयोगले दर्ता गरेको मुद्दा पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित रहेको पदाधिकारी बैठकको ठहर, नेकपा नेतालाई पनि मुद्दा लगाउन दबाब दिन नेविसंघ र तरुण दललाई सडक प्रदर्शनमा उत्रिन निर्देशन ।
२३ र २४ माघ – राजनीतिक प्रतिशोधमा गच्छदारमाथि मुद्दा लगाइएको तर मन्त्रिपरिषदबाट निर्णय गराउने माधव नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै संसद् अवरुद्ध ।
२४ माघ – संसदीय दल बैठकमा देउवाले भने, ‘गच्छदारविरुद्ध पूर्वाग्रहपूर्ण निर्णय भएको छ । यो कांग्रेसमाथिको आक्रमण हो । दुराग्रह र पूर्वाग्रहणपूर्ण विषय भएकोले एक भएर प्रतिवाद गर्नुपर्छ ।’
२४ माघ – नेविसंघको संयोजनमा कांग्रेसमा भ्रातृसंस्थाहरूको माइतीघर मण्डलामा प्रदर्शन ।
२६ माघ – तरुण दलको संयोजनमा कांग्रेस भ्रातृसंस्थाहरूको देशभर प्रदर्शन ।
२६ माघ – गच्छदारको मुद्दाकै विषयमा संसद् बैठक अवरुद्ध ।
२७ माघ – गच्छदारमाथि राजनीतिक दुराग्रह राखी मुद्दा चलाइएको केन्द्रीय समितिको निष्कर्ष ।

कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको कसरतबारे गच्छदारले सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ब्रिफिङ गरेका हुन् ।

दिउँसो २ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सुरु भएको थियो । बैठकको सुरुवातमै ‘उपसभापति गच्छदारजीलाई आफ्नो कुरा राख्न एक घण्टाको समय दिन्छु’ भन्दै सभापति शेरबहादुर देउवाले समय दिए । एक घन्टा समय दिइए पनि गच्छदारले मात्रै झन्डै दुई घण्टा बोलेपछि कांग्रेस बैठक सकियो ।

दुई घण्टाको समयावधिमा गच्छदारले आफूलाई मुद्दा लाग्ने गरी अनुसन्धान अघि बढेदेखि नै उच्च राजनीतिक नेतृत्वसँग संवाद गरेको खुलाए । उनले कम्युनिस्ट सरकारले अन्ततः मुद्दा लगाएरै छोडेको बताए । बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अघि बढ्ने र बयानसमेत सकिएदेखि नै उच्च नेतृत्वसँग भेटेरै मुद्दा नलगाइदिन आफूले बारम्बार आग्रह गरेको गच्छदारले बैठकमा सुनाए ।

अख्तियारले मुद्दा दर्ता गरेको २२ माघको दिनसमेत अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभापति शेरबहादुर देउवालाई भेटेरै मुद्दा नलगाइदिन आग्रह गरेको उनले बताए । ‘बालुवाटारको जग्गाको विषयमा मलाई सोधपुछदेखि नै यसमा संलग्न छैन भनेर धेरै प्रयास गरें ।

राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, सुवास नेम्वाङसहितका उच्च राजनीतिक नेतृत्वसँग भेट गरें,’ केन्द्रीय कार्यसमिति बैठकमा गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, बालुवाटार परिसर र बाटोलाई व्यवस्थित गर्नका लागि प्रधानमन्त्रीले भनेअनुसारकै मास्टर प्लान ल्याएको हो । मेरो योजना होइन । मोही खडा गर्ने, लालपुर्जा बनाउने काम मैले गरेको होइन । राजनीतिक प्रतिशोधले मलाई झुटा मुद्दा लगायो । यो कांग्रेसमाथिकै आक्रमण हो । अन्ततः मलाई फसाए, मेरो दोष छैन ।’

अख्तियारले मुद्दा लगाउने थाहा दिन पनि आफूले बिहानैदेखि राजनीतिक दौडधुप गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ थियो । ‘मैले प्रधानमन्त्रीसँग भेटें, लोकतन्त्रका लागि तपाईं १४ वर्ष जेल बस्नुभयो, म पाँच वर्ष जेल बसें । बालुवाटारको जग्गाको विषयमा भूमि सुधारमन्त्रीको कार्यक्षेत्र पर्नेमा मलाई आरोपित गरियो र फसाउन खोजिँदैछ भनेर प्रधानमन्त्रीसँग ४५ मिनेट संवाद गरेँ,’ गच्छदारको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘तर, उहाँले सुनिरहनु भयोे, केही भन्नु भएन ।

राजनीतिक प्रतिशोधमा योजनाबद्ध भएरै उहाँ केही नबोल्नु भएको हुन सक्छ ।’
ओलीले मुद्दाबारे केही नबोलेपछि बालुवाटारबाटै गच्छदार सीधै सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । अन्तिम प्रयासस्वरूप सभापतिमार्फत प्रधानमन्त्री ओलीलाई मनाई दिन उनले आग्रह गरे । सोही आग्रहअनुसार, देउवाले ओलीलाई फोन पनि गरेका थिए । फोनमा देउवाले ‘अहिले रोक्नुस्, नगर्नुुस् । यसरी प्रतिशोधमा मुद्दा चलाउनु राम्रो हुँदैन,’ भनेर आग्रह गरे पनि प्रधानमन्त्री ओलीले सुने मात्रै, केही नबताएको ब्रिफिङ गच्छदारले नै बैठकमा गरेका थिए ।

गिरिजाप्रसाद कोइराला हुँदै पार्टी छोडेर गएको, कम्युनिस्ट मिलेपछि लोकतन्त्रमाथि आक्रमण हुने भएकाले पार्टीमै फर्केर आए पनि कांग्रेस एक नहुँदा आक्रमण हुन लागेको उनको भनाइ थियो । ‘पहिले मैले जस्तो कांग्रेस छोडेको थिएँ, अहिले त्यस्तो कांग्रेस छैन,’ गच्छदारले बैठकमा भने, ‘कम्युनिस्टको ज्यादती धेरै बढिसक्यो । कांग्रेसका हरेक नेतालाई झुठा मुद्दा लगाउँदै फसाउँदै छन् । हामी एकताबद्ध नहुने हो भने कम्युनिस्टविरुद्ध लड्न सक्दैनौं । आपसमा भिड्दा कमजोर हुन्छौं ।’

राजनीतिक प्रतिवाद : कांग्रेस
बालुवाटार जग्गासम्बन्धी विषयमा अख्तियारले प्रस्तुत गरेको अभियोगपत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको कांग्रेसको निष्कर्ष छ । ‘यसले के प्रस्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ ।

यो कार्य राजनीतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानुनी रूपमा सामना गर्दै निर्दोष साबित हुनुहुनेछ, भन्ने नेपाली कांग्रेसको विश्वास छ ।’

गच्छदारलाई गगनका प्रश्न
कांग्रेस युवा नेता गगन थापाले केही प्रश्नको जवाफ गच्छदार स्वयंले दिनुपर्ने जिकिर गरेका छन् । बैठक चल्दाचल्दै थापाले गच्छदारलाई ‘तपाईं निर्दोष हुनुहुन्छ, मेरो नेताका रूपमा विश्वास छ । तर, यसको निर्णय अदालतले गर्छ ।

केही प्रश्नले हाम्रो विश्वासलाई बाहिर अप्ठ्यारोमा पारेको छ । तपाईंले यी प्रश्नको जवाफ दिनुपर्छ,’ भनेका थिए । थापाका प्रश्न थिए, बालुवाटार जग्गाको सट्टापट्टाको प्रस्ताव किन लगेको ? आफ्नो मन्त्रालयबाहिरको प्रस्ताव लिएर जाँदा त्यसमा कानुन मन्त्रालयको राय अनिवार्य किन नलिएको ?

शीर्ष नेताको एकै स्वर
गच्छदारमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, डा. शेखर कोइरालासहितका नेताले अख्तियार सरकारको प्रभावमा परी कांग्रेसका नेतालाई मात्रै फसाउन लागेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रधानमन्त्रीले उन्मुक्ति पाउने तर मन्त्रीलाई तानेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसहितका युवा नेताहरूले गच्छदारको मुद्दाको कानुनी उपचार एकातिर भए पनि अख्तियार सरकारको छायाँ जस्तो देखिएकाले राजनीतिक मुद्दा बनाएर जानुपर्ने मत राखेका थिए । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like