‘तपस्वी बमजन उनले चाहे मात्रै भेटिन्छन्’

by समतल अनलाइन

सिन्धुली। लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बमजन सिन्धुली आश्रमबाट फरार भएका छन् । आफ्नै अनुयायीलाई यौन शोषण गरेको आरोप लागेपछि शुक्रबार जिल्ला प्रहरी टोली उनको आश्रममा बिहान पाँच बजे पुगे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बमजनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा पुग्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन् ।

‘सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गर्दा बम्जन फेला परेनन्,’ उनले भनिन्, ‘खोजी कार्य जारी छ । बमजनविरुद्ध यौनहिंसाको जाहेरी परेकाले खोजी भइरहेको छ ।’

बमजनको आश्रमबाट उनका मुख्य सहयोगी मानिने लोप्चन गुरुमार्ग गुरु भनेर चिनिने ज्ञानबहादुर बमजनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धानपछि उनलाई छाडिने प्रहरी प्रमुख सिग्देलले बताइन् ।

२०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रमका रूपमा बस्न बमजन सिन्धुली आएका थिए । तर सिन्धुलीमा तीन महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बमजन पुनः २०७४ असोजदेखि सिन्धुलीमै आश्रम बनाएर बसिरहेका थिए । बमजनलाई पक्राउ गर्न सर्लाही र सिन्धुलीको प्रहरी टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली आश्रम पुगेको थियो ।

विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फूलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुव्र्यवहार भएको आरोप बमजनमाथि लागेपछि प्रहरीले उनको खोजी सुरु गरेको हो ।

बोधी–श्रवण धर्म संघका केद्रीय सदस्य छत्र घिसिङ गुरु (रामबहादुर बमजन) सिन्धुली आश्रम छाडेर अन्यन्त्र नगएको बताउँछन् । ‘गुरु कहीं जानु भएको छैन, आश्रमभित्र कतै हुनुहुन्छ,’ उनले भने, ‘हामीले पनि चाहेर भेट्न सक्दैनौं, उहाँले चाहेको समयमा मात्रै भेट हुने हो ।’ उनले प्रहरीको अनुसन्धानमा सघाउन आफूहरू तयार रहेको पनि बताए । नागरिक दैनिकबाट

 
 
  
 

You may also like